जनकपुरधाम – धनुषाको हंसपुर नगरपालिका ५ मा दुई समूहको विवादपश्चात एकजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौकीमा तोडफोड गरेका छन् । सयौंको संख्यामा रहेका स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउदा एकजना घाइते भएकाछन् ।
प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशंकर मण्डल घाइते भएका हुन। एमाले कार्यकर्ता मण्डललाई उपचारका लागि अहिले जनकपुरधाम लगीएकोछ ।हंसपुर नगरपालिका ५ का शंकर ठाकुरको छोरा र अरुण मण्डलको छोराबीच झगडा हुँदा छिमेकी दीपा मण्डल छुट्याउन पुगेका थिए । तर, ६५ वर्षीय मण्डल नै कुटिए ।



‘छुट्याउन गएका मण्डलकै टाउको फोडियो,’ हंसपुरका मेयर प्रदीप यादवले भने, ‘तर टाउको कसले फोड्यो थाहा भएन । उनी प्रहरी कार्यालय पनि पुगेका थिए । पछि उपचार गराउन अस्पताल गए । उपचारको क्रममा उनको मृत्यु भएको जानकारी आएको प्रहरीले जानकारी दिएको छ ।’
मण्डलको मृत्यु प्रहरीले कुटेर भएको भन्दै स्थानीयले प्रहरी चौकीमा तोडफोड गरेको बताउँदै मेयर यादवले भने, ‘गाउँलेले प्रहरीमाथि आरोप लगाएपनि यसको पुष्टि भएको छैन । यो रातिको घटना हो ।’ उनका अनुसार मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले चोरीको विषयमा दुई पक्षबीच विवाद भएपछि एकजनाको मृत्यु भएको र सोही विषयलाई लिएर स्थानीयले प्रहरी चौकी तोडफोड गरेको बताए ।



