गुल्मी- गुल्मीको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्गमा विशेषज्ञ डाक्टर सहितको अस्पताल संचालनमा आएको छ । लुम्बिनी मेडिकल कलेज, पाल्पा र पब्लिक हेल्थ लिमिडेट गुल्मीद्धारा जिल्लामा ‘पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि’ नामको अस्पताल संचालनमा आएको हो । अस्पतालको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, गुल्मी दरबारका अध्यक्ष सरोज थापा, छत्रदेवका अध्यक्ष चन्द्रमान श्रेष्ठ र पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरे ।

अस्पतालबाट गुल्मीको छत्रकोट, गुल्मीदरबार, रुरुक्षेत्र, अर्घाखाँचीको छत्रदेव, पाणिनी, पाल्पाको रैनादेवी गरी छ वटा पालिकाका एक लाखभन्दा बढी मानिसहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन ।अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, अन्तरंग सेवा, भिडियो एक्सरे, इसिजी र प्रयोगशाला सेवा उपलब्ध गराउने छ । अस्पतालको कुल लागत हालसम्म सात करोड भन्दा बढी रहेको बताईएको छ ।

उद्घाटनको अवसरमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर समेत संचालन संचालन गरि बिरामीहरुलाई सेवा प्रदान गरिएको छ । शिविरमा हाडजोर्नी तथा नाशारोग विशेषज्ञ, स्त्री तथा प्रसुती रोग विशेषज्ञ, पेट तथा छाती रोग विशेषज्ञ, नाक, कान तथा घाँटी रोग विशेषज्ञ र मनोरोग विशेषज्ञद्धारा सेवा प्रदान गरिएको हो । शिविरबाट ४ सय ८३ जना लाभान्बित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय