पश्चिम नवलपरासी।पश्चिम नवलपरासीको बर्दघाटमा मिर्गौला पीडितका लागि पहिलोपटक डायलसिस सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।बर्दघाट नगरपालिका–१४ स्थित शहीद स्मृति सामुदायिक अस्पतालमा डायलसिस सेवा सञ्चालनका लागि ‘मिर्गौला पीडित स्वास्थ्य उपचार सेवा सञ्चालन कार्यदल’ गठन गरी महाअभियान सञ्चालन भइरहेको छ।



नगरबासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बर्दघाट नगरपालिकाले १७ सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलको नेतृत्व स्वयं नगर प्रमुख शम्भुलाल श्रेष्ठले गरिरहेका छन।
नगर प्रमुख श्रेष्ठले सम्पूर्ण नगर तथा जिल्लाबासीलाई “मिर्गौला पीडितलाई बचाऔं, महाअभियानमा सहभागी बनौं, एक घर एक हजार” भन्ने नारासहित सहयोग गर्न आह्वान गरेका छन।उनका अनुसार हाल बर्दघाट नगरभित्र मात्रै ५२ जना मिर्गौला पीडित छन् भने जिल्लाभर करिब २५० जना पीडित रहेको अनुमान गरिएको छ।सेवा सञ्चालनका लागि वार्षिक करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सोही खर्च जुटाउन हाल सहयोग संकलन अभियान चलाइएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
हाल अस्पतालमा उपलब्ध ६ वटा डायलसिस मेसिनमध्ये बाटोको असुविधाका कारण दुई वटा बिग्रिएर बाहिर राखिएको र बाँकी चार वटा मेसिन सञ्चालन योग्य अवस्थामा रहेको जनाइएको छ।
डायलसिस सेवा सुरु भएपछि मिर्गौला पीडितलाई उपचारका लागि बुटवल, चितवन वा काठमाडौंसम्म जानुपर्ने बाध्यता हट्नेछ। साथै, आर्थिक, भौतिक र मानसिक रुपमा पनि राहत पुग्ने अपेक्षा गरिएको छ।



