काभ्रेको धुलिखेलमा रहेको सामुदायिक अस्पतालमा एक सय शैयाको ट्रमा सेन्टर निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ट्रमा सेन्टर निर्माणको शिलन्याश गर्नुभएको हो ।
ट्रमा सेन्टर निर्माणको लागि २०८२ जेठ २ गते नेपाल सरकारको अर्थ मन्त्रालय र जापान सरकार जाइकाबीच सम्झौता भएको थियो । सम्झौतामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर गरिएको थियो ।



धुलिखेल अस्पतालले अरनिको राजमार्ग र विपी राजमार्गले ओगट्ने ठूलो भू–भागका नागरिकलाई गम्भीर चोटपटक र आकस्मिक स्वास्थ्य समस्याको लागि उपर्युक्त उपचार प्रदान गर्ने उद्देश्यले धुलिखेल अस्पतालमा ट्रमा तथा इमरजेन्सी सेन्टरको अवधारणा बनाएको थियो । सन् २०१४ मा सम्बन्धित निकायहरुमार्फत् र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाललाई ट्रमा सेन्टर निर्माणको लागि प्रस्तावना पेश गरेको थियो ।
सन् २०२७ को जुन महिनासम्म अस्पताललाई हस्तान्तरण गरिने गरि निर्माण सुरु भएको सेन्टर निर्माण सम्पन्न भएपछि सिटी स्क्यान, एमआरआई, अपरेसन थिएटर, भेन्टिलेटर, एक्स–रे मशिन र अस्पताल शैया जस्ता अत्याधुनिक उपकरणहरू उपलब्ध हुनेछन् ।
ट्रमा तथा आपत्कालीन केन्द्र सञ्चालनमा आएपछि काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा अरनिको राजमार्ग सँग जोडिएका र बीपी राजमार्गसँग जोडिएका तराई जिल्लाका गम्भीर घाइते र आपत्कालीन बिरामीहरूलाई समयमै सेवा पु¥याइने अपेक्षा गरिएको छ।
यसै क्रममा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधीको उपस्थितिमा, अप्रिल २०२५ मा टोडा कर्पोरेशन टोकियो जापान निर्माण कार्यको लागि छनौट भई प्रारम्भिक कार्य शुभारम्भ गरिसकिएको छ । अस्पताललाई चाहिने अत्याधुनिक उपकरणहरु जस्तै सिटीस्क्यान, एमआरआई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेशिन लगायत अस्पतालका बेडहरुसहित जुन २०२७ मा हस्तान्तरण गरिने योजना रहेको छ ।
विकासशील तथा अल्पविकसित देशहरूमा सवारी दुर्घटनाको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । पछिल्ला अध्ययनहरू अनुसार २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरूको मृत्युलाई सवारी दुर्घटनाको प्रमुख कारण मानिन्छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार प्रत्येक चार घण्टामा एक जनाको ज्यान सवारी दुर्घटनाबाट जाने गरेको छ । अझ विशेषगरी नेपालमा रुख, भिर, पाखाबाट लडेर हुने घाइतेहरुको संख्या पनि धेरै ठूलो छ ।
चोटपटकपछि घाइतेले शारीरिक र मानसिक क्षति बेहोर्नुका साथै समग्रमा राष्ट्रलाई नै अपूरणीय क्षति पुगिरहेको सन्दर्भमा धुलिखेलमा ट्रमा तथा इमरजेन्सी सेन्टरको निर्माण हुन लागेको अस्पतालका कार्यकारी निर्देशक प्राडा रामकण्ठ माकाजुले जानकारी दिनुभयो ।



