गएराती मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ स्थित लार्जुङ खोलामा आकस्मिक रूपमा पानीको बहाव बढेपछि स्थानीयवासीहरू त्रसित बनेका छन्। खोलाको पानी एक्कासी बढेपछि बस्तीमा जोखिम उत्पन्न भएपछि तत्काल स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सरोकारवाला निकाय घटनास्थल पुगेका थिए। जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० बिष्णु प्रसाद भुसालको नेतृत्वमा सुरक्षाकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय स्वयंसेवकहरू घटनास्थलमा खटिएका थिए। तत्काल जोखिम मूल्याङ्कन गर्दै बाढीको पानीलाई एकातिर डाइभर्ट गरेर बस्तीमा क्षति हुन नदिन पहल गरिएको थियो।

सिडिओ भुसालले बताए अनुसार, हामीले जोखिम महसुस गरी रातको समयमा नै आवश्यक संयन्त्र परिचालन गरेका थियौं। सुरक्षाकर्मीहरूको प्रयासमा खोलाको धार परिवर्तन गरेर सम्भावित क्षति टारिएको छ। अहिलेसम्म जनधनको क्षति भएको छैन, तर सतर्कता उच्च बनाइएको छ। बाढीपछि खोलाको बहाव केही सामान्य भए पनि अझै पनि मौसमको प्रतिकूलताले थप जोखिमको सम्भावना रहेकाले प्रशासनले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। बस्ती नजिकैको जमिन कटान हुँदा केही कृषि जमिनमा क्षति पुगेको जनाइएको छ।

स्थानीय बासिन्दा चन्द्र पुनले भने,हामी रातभर निदाउन सकेनौं। खोलाको आवाज एक्कासी ठूलो भएपछि डर लाग्यो। सुरक्षाकर्मीहरू समयमै आइपुगेकाले ठूलो क्षति हुन पाएन।यस बाढी घटनाले जलवायु परिवर्तन र असार महिनामा आउने प्राकृतिक प्रकोपको जोखिमप्रति सचेत रहनुपर्ने देखिएको छ। स्थानीय तह, जिल्ला प्रशासन र सम्बन्धित निकायबीच समन्वय गरी भविष्यमा अझ प्रभावकारी रूपमा विपद् व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले आगामी दिनमा सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान गरी अलर्ट सिस्टम थप सुदृढ बनाउने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय