सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा बोलबम तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक तीर्थयात्रीको ज्यान गएको छ। सोमबार मध्यान्ह मन्दिरनजिकै डाँडामा रहेको एक घरमा १० जना भन्दा बढी तीर्थयात्री बसेको बेला विवाद शुरु भएको थियो। प्रत्यक्षदर्शीका अनुसार तीर्थयात्रीहरूबीच सामान्य भनाभनबाट झगडा चर्कँदै गएर हात हालाहालसम्म पुगेको थियो। त्यही क्रममा एक तीर्थयात्रीमाथि चक्कु प्रहार गरिएको हो।



जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार चक्कु प्रहारबाट अन्दाजी ३० वर्ष जतिको एक पुरुष तीर्थयात्रीको घटनास्थलमै ज्यान गएको हो। घटनापछि मृतकको शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको छ। हालसम्म मृतकको पहिचान खुलेको छैन। झगडाका क्रममा केही तीर्थयात्रीहरू कराउँदै चिच्याएको आवाज सुनेपछि स्थानीयवासी घटनास्थलतर्फ लागेका थिए। तर, प्रहरीका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति वा समूह जंगलतर्फ भागेका छन्। हालसम्म कोही पक्राउ परेका छैनन्।
प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको छ भने हत्यामा संलग्न व्यक्ति वा समूहको पहिचान र खोजी कार्य तीव्र बनाइएको जनाएको छ। घटनाको वास्तविक कारण के थियो भन्नेबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। यस प्रकारको घटनाले धार्मिक स्थलमा सुरक्षाको चुनौती र तीर्थयात्रीको आपसी व्यवहारप्रति पनि प्रश्न उठाएको छ। स्थानीय प्रशासन र मन्दिर व्यवस्थापन समितिले सुरक्षाका लागि थप कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।



