महोत्तरीको गौशालामा निगौल गाई गौशाला र गौशाला नगरपालिका बीच भएको जग्गा र वट्टी रकमको स्वामित्व विवादले सोमबार हिंसात्मक रुप लिँदा पाँच जना घाइते भएका छन्। गौशाला नगरपालिका वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर मण्डल, विजय यादव, सुरेन्द्र महतो तथा वडा नं। ४ का विपिन साह र सुनिल साह झडपमा घाइते भएका हुन्। वडाध्यक्षसहित तीनजनालाई काठमाडौँ रेफर गरिएको छ भने साह दाजुभाइको शुभस्वस्तिक अस्पताल, बर्दिवास मा उपचार भइरहेको छ। अधिकांशको टाउकोमा गम्भीर चोट लागेको भए पनि सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।



विवादको मूल कारण
गौशाला नगरपालिका–५ स्थित कित्ता नं ८२, ८३ र ८४ मा रहेको २ विघा १९ कट्ठा ११ धुर जग्गाको लालपुर्जा निगौल गाई गौशालाको नाममा रहे पनि सोही स्थानमा वर्षौँदेखि पशु हाट गोरु बजार लाग्दै आएको छ। सुरुमा नमुना गाउँ विकास समिति र पछि गौशाला नगरपालिकाले बजार व्यवस्थापन गर्दै आएको थियो। वि।सं। २०७० मा भएको सम्झौताअनुसार ठेक्काबाट उठेको रकमको २५५ गाई गौशालालाई दिने भनिएको थियो, तर त्यसपछि नसमिति, न नगरपालिकाले रकम दिएको आरोप गाई गौशालाले लगाएको छ।
गाई गौशालाका प्रमुख वीरबहादुर चौधरी का अनुसार हालसम्मको ठेक्काबाट उठेको करिब पाँच करोड रुपैयाँ गाई गौशालालाई दिन बाँकी छ। बारम्बार माग गर्दा पनि रकम नपाएपछि यसपालि गाई गौशालाले बजार अमानतमा चलाउन थालेपछि झडप भएको उनको भनाइ छ।
नगरपालिका र प्रशासनको प्रतिक्रिया
यस विषयमा गौशाला नगर प्रमुख डा। दिपेन्द्र कुमार महतो ले पत्रकार सम्मेलनमार्फत गाई गौशाला र बाह्य तत्वले नगरपालिकाको कानुनी ठेक्का व्यवस्थामा हस्तक्षेप गर्दै वडाध्यक्षमाथि आक्रमण गरेको आरोप लगाए। उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हाट बजार व्यवस्थापन नगरपालिकाको अधिकारभित्र पर्ने भन्दै त्यसअनुसार ठेक्का दिइएको स्पष्ट पारे। साथै, आक्रमणमा संलग्नमाथि कानुनी कारबाहीको माग समेत गरेका छन्।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले दुवै पक्षलाई छलफलमा ल्याउने प्रयास भइरहेको बताएका छन्। जग्गा कागजातअनुसार स्वामित्व गाई गौशालाकै नाममा देखिएको भए पनि बजार व्यवस्थापनको ऐतिहासिक अभ्यासको अध्ययन भइरहेको उनले बताए। भविष्यमा झडप नहोस् भनेर सुरक्षा व्यवस्था कडा बनाइएको र शान्तिपूर्ण समाधानको पहल भइरहेको पनि उनले जानकारी दिए।



