मुख्यमन्त्री बहादुर सिंह लामा र मुख्यमन्त्रीका आकांक्षी इन्द्र बहादुर बानियाँबीचको प्रतिस्पर्धाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल विभाजित बनेको छ । मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन २१ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेशसभामा कांग्रेसभित्रको विवाद छताछुल्ल बनेको हो । बहादुर सिंह लामालाई मुख्यमन्त्रीबाट हटाउने प्रयोजनमा एकजुट भएका सांसदहरु भने कांग्रेसका सबैजसो गुटबाट प्रतिनिधित्व गर्नेहरु छन् ।



बहादुर सिंह लामालाई हटाएर इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउने प्रयोजनमा नेपाली कांग्रेसका २१ सांसदले शुक्रबार कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराए । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने वैधानिक व्यवस्थाका कारण उनीहरुले दलको नेता परिवर्तन गर्न अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमा साथ दिन शुक्रबार नै कांग्रेसका ४ मन्त्रीले राजीनामा दिए । उनीहरुलाई लामाले शुक्रबार नै पदमुक्त गरेको जानकारी दिएका छन् ।
मुख्यमन्त्रीविरुद्ध २१ सांसदले गरेको मोर्चाबन्दी कुनै एउटा गुट केन्द्रित छैन । बरु कांग्रेसका सबैजसो गुटको प्रतिनिधित्व भएको छ । अर्थमन्त्री कुन्दन काफ्लेले ल्याएको बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमा रुष्ट कांग्रेस सांसदहरुले मुख्यमन्त्रीविरुद्ध फायर खोल्दै सभापति देउवाको साथ खोजेका थिए । त्यसमा घ्यू थप्ने काम गर्नुभयो मुख्यमन्त्रीका आकांक्षी बानियाँले । सभापति देउवाले आलोपालो गर्ने शर्तमा गत वर्ष लामालाई मुख्यमन्त्री बनाउनुभएको थियो । २०७९ को प्रदेशसभा निर्वाचनपछिको संसदीय दलको नेता चयनमा देउवा पक्षका बानियाँ लामासँग पराजित हुनुभएको थियो । पार्टीको प्रदेश सभापतिमा आफ्नै जोडबलमा जिताए पनि संसदीय दलको नेतामा भने देउवाले असहयोग गर्दा बानियाँ पराजित हुनुभएको थियो । तर पछिल्लो समय बानियाँले पुनः देउवासँग सम्बन्ध सुधार गरी मुख्यमन्त्रीको बाटो खन्नुभयो ।
प्रदेश सरकारले ल्याएको बजेटमा आफ्नै पार्टीका सांसद रुष्ट भएपछि देउवाले तत्काल मुख्यमन्त्री परिवर्तन गर्ने गरी लामालाई राजीनामा दिन सुझाउनुभयो । बूढानीलकण्ठमा देउवासँगको छलफलपछि राजीनामा दिन्छु भनेर हिँडेका लामाले त्यसपछि राजीनामा दिनु भएन । कांग्रेसका एक नेताका अनुसार लामाले राजीनामा नदिएपछि बानियाँले रुष्ट सांसदहरुलाई जोडेर संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हस्ताक्षर गराउनुभयो । यो हस्ताक्षरमा सांसदहरुमात्र होइन, लामाकै मन्त्रिपरिषदका सदस्यहरुले समेत साथ दिए । उनीहरु बजेटमा अर्थमन्त्री काफ्ले गरेको मनपरीलाई मुख्यमन्त्रीले साथ दिएको भन्दै असन्तुष्ट थिए । यही असन्तुष्टिमा खेलेर मुख्यमन्त्रीविरुद्ध बहुमत सदस्य उभ्याउन सफल हुनुभयो बानियाँ ।
हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यको गुटगत निकटता
देउवा निकट सांसदहरू
इन्द्रबहादुर बानियाँ
शिवराज अधिकारी
बिनु रायमाझी
प्रभात तामाङ
मीनकृष्ण महर्जन
विमल ठकुरी
माया श्रेष्ठ
उर्मिला नेपाल
मुना परियार
गगन थापा निकट सांसदहरू
याङ्गिला शेर्पा
सुरजचन्द्र लामिछाने
सुरेश श्रेष्ट
श्रीराम लामिछाने
मीना पराजुली
छिरिङ दोर्जे लामा
प्रकाशमान सिंह निकट सांसदहरू
कञ्चनचन्द्र बाँदे
दीपेन्द्र श्रेष्ठ
पुकार महर्जन
यमुनादेवी श्रेष्ठ
शान्ता ढकाल
बालकृष्ण खाँड
यदुकुमार श्रेष्ठ
बागमती कांग्रेसमा किचलोको पछिल्लो कारण आगामी आर्थिक वर्षको बजेट नै देखिएको छ । गत जेठ गते अर्थमन्त्री काफ्लेले पेश गरेको बजेटमा सबैभन्दा धेरै आपत्ति कांग्रेस सांसदहरुले नै प्रकट गरेका थिए । उनीहरुले मन्त्रीले मनपरी रुपमा योजना छनोट गरेको, सचिवलाई प्रभावित पारेको, अरु मन्त्रालयको बजेट र योजनामा समेत हस्तक्षेप गरेको, आफ्ना सांसदहरुले माग गरेको ठाउँमा बजेट नहालेर अर्कै प्रदेशसम्म बजेट छरेको आरोप लगाएका थिए । जसका कारण लामो समयसम्म बजेटमाथि छलफल नै हुन सकेन । पछि बजेट संशोधन गर्ने र योजना थप्ने सहमति भएपछि २५ दिनपछि बजेट पारित गरिएको थियो । त्यहाँबाट विकसित भएको आन्तरिक विवादले मुख्यमन्त्री फेर्ने विगतको सहमतिमा पुग्ने बाटो खुल्यो । तर मुख्यमन्त्री लामा राजीनामा नदिने अडानमा पुगेपछि अन्ततः कांग्रेस सांसदहरु संसदीय दलको नेताबाट पाखा लगाएर मुख्यमन्त्री परिवर्तन गर्ने निर्णयमा पुगेका हुन् ।



