काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचौकका फनिलाल यादवको अज्ञात धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।
अन्दाजी ८० वर्षीय यादवमाथि राति सुतिरहेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरिएको परिवारजनले बताएका छन् । विहान अबेरसम्म नउठेपछि परिवारले बोलाउन जाँदा उनी गम्भीर घाइते अवस्थामा भेटिएका थिए । तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।



फनिलाल यादव लहान–२४ का भूपू वडा अध्यक्ष कमलदेव यादवका पिता हुन् । उनका जेठा छोरा कपिलदेव यादवले घटनापछि प्रहरीलाई खबर गरे पनि समयमा प्रहरी नआएको गुनासो गरेका छन् ।
प्रहरीको ढिलासुस्ती र लापरबाहीप्रति आक्रोशित बनेका स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर करिब एक घण्टा आवागमन बन्द गरेका थिए । स्थानीयले घटना गम्भीर भएको र हत्यारालाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

यता, जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता एवम् डिएसपी बिरेन्द्र कुमार पासवानले घटनाबारे अनुसन्धान भइरहेको र हत्याराको खोजतलास भइरहेको बताएका छन् ।



