घर भत्किएर किच्दा सर्लाहीको चन्द्रनगरमा एक बालको ज्यान गएको छ ।बुधबार चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा घर भत्किएर किच्दा सोही स्थान बस्ने गौतम माझीका ६ वर्षका छोरा अरुण माझीको मृत्यु भएको हो । प्रहरीका अनुसार दिउसो ४ः३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो ।
आँगनमा खेली रहेका बालकलाई भत्किएको घरको भग्नावशेषले किचेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । घटना लगतै स्थानीयले भत्किएको घर भित्र अन्य मानिसहरू समेत पुरिएको आशङ्का सहित प्रहरीलाई खवर गरेका थिए । लगतै पुगेको प्रहरी टोलीले स्थानीय र जेसीवीको सहायतामा घरको भग्नावशेष हटाएको छ ।



काठ, इट्टा र माटोले बनेको उक्त पुरानो घर जीर्ण भएर लडेको प्रहरीको आशङ्का छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । प्रहरीले मृत बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याएको छ ।



