काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम स्थगित भएको छ । प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार आज दिउसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएकोले उपचारको लागि काठमाडौ जानुपरेकाले शपथ ग्रहण कार्यक्रम रोकिएको सूचनामा उल्लेख छ । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।



नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आजका लागि तय भएको थियो । संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । बानियाँले कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरु आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् । तर, लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजीनामा दिनु नपर्ने बताइरहेका छन् ।



