लमजुङको मस्र्याङ्दी गाउँपालिका–६, नाइँचे गाउँ नजिकै भीरबाट खसेको पहिरोले लागेर एकजनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।



शनिबार दिउँसो आएको पहिरोमा परि सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत अन्दाजी ४४ वर्षीय लगनध्वज गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल बेंसीसहर नगरपालिका–८, मा अस्थायी रुपमा बस्दै आएका उनको स्थायी बासस्थानको पहिचान हुन बाँकी रहेको प्रहरी र आयोजनाले जनाएको छ ।
निर्माणधिन ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको निर्माण कम्पनीमध्ये जी एण्ड जी इन्फ्रा प्रालिका तर्फबाट मेकानिकल काम गर्दै आएका गुरुङसहितका कामदारहरु शनिबार दिउँसो क्याम्पमा खान खाने बेला एक्कासी भीरबाट पहिरो झरेको थियो । पहिरोले लागेपछि गुरुङको घटनास्थलमै मृत्यु भएको आयोजना स्रोतले बताएको छ
प्रहरीसहित कामदारहरुले ४ जनाको उद्धार गरेकोमा गुरुङ मृत अवस्थामा भेटिएका थिए । पहिरो लाग्दा गुरुङको मृत्यु भएको र गम्भिर घाइते ३ जनालाई उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
घाइते हुनेहरुमाम दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्युठान जिल्ला झिम्रुक गाउँपालिका–६ बस्ने २५ वर्षीय विकास विष्ट रहनेका छन् ।
क्याम्पमा ४० जनाको हाराहारीमा कामदारहरु बस्दै आएको र पहिरो खस्न थालेपछि भाग्ने क्रममा ४ जनालाई पहिरोले लागेको र अन्य ३६ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ ।



