जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित थापाचोकमा रेल र कार एकआपसमा ठोक्किँदा सवारी साधनमा क्षति पुगेको छ। आइतबार बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको नेपाल रेल्वे कम्पनीको यात्रुबहाक रेललाई थापाचोकस्थित रेलवे क्रसिङमा पार गर्न खोज्दा एक निजी कार ठोक्किएको हो। दुर्घटनामा मानवीय क्षति नभएको जनाइएको छ भने कारको अगाडिको भागमा ठूलो क्षति पुगेको छ। स्थानीयका अनुसार घटनाको समयमा क्रसिङमा सुरक्षा गार्ड वा सूचना दिने व्यवस्था नहुँदा यस्ता दुर्घटना हुने गरेका छन्।



रेल वे प्रशासन र ट्राफिक प्रहरीको टोलीले घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ। सुरक्षित रेलवे क्रसिङको अभाव र चेतनाको कमीले जनकपुर क्षेत्रमा यस्ता दुर्घटनाहरू दोहोरिइरहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।



