सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला परेको छ।



गत असोज ५ गते राति करिब ८ बजे घर नजिकैबाट हराएका अभिषेकको शव सोमबार बिहान आफ्नै आफन्तको आँप बगैंचामा फ्याँकिएको अवस्थामा भेटिएको हो।
परिवारका अनुसार असोज ६ गते बिहान अभिषेककी आमाको मोबाइलमा अभिषेककै मोबाइलको(Imo) नम्बरबाट मेसेज आएको थियो। सो मेसेजमा अभिषेकलाई अपहरण गरेको र उनको ज्यान सुरक्षित राख्न चाहिँ ५ करोड रुपैयाँ बुझाउनुपर्ने धम्की दिइएको थियो। साथै, प्रहरीलाई खबर गरेमा मारेर फ्याँक्ने चेतावनीसमेत दिइएको थियो।
अभिषेक हराएको खबरपछि परिवारले रातभर खोजतलास गरे पनि नपाएपछि गाउँमा त्रास फैलिएको थियो। तर फिरौतीको मेसेज आएको तथ्य प्रहरीले हिजोमात्र पुष्टि गरेको थियो।
यसैबीच, सोमबार बिहान करिब ६ बजे गाउँकै आँपबगैंचामा अभिषेक मृत फेला परेपछि गाउँ शोकमा डुबेको छ। घटनाबारे स्थानीयवासी र आफन्तजनले गहिरो आक्रोश व्यक्त गर्दै संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजायको माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्तरराम शर्माले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार प्रारम्भिक अनुसन्धानमा यो प्रकरण अपहरणपछि योजनाबद्ध हत्या भएको देखिएको छ।
तस्वीर:हिमालयकर्मी/सुरेश राय,सिरहा



