काठमाडौं, असोज २७ – नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन नयाँ कीर्तिमान बनाउने क्रममा आज पुनः उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले वृद्धि भई २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सर्वाधिक हो। हिजो मात्र छापावाला सुनको मूल्य २ लाख ४० हजार ४ सय रुपैयाँ मा कारोबार भई रेकर्ड बनाएको थियो। तर आजको वृद्धि पछाडि लगत्तै त्यो रेकर्ड पनि भङ्ग भएको छ। महासंघका अनुसार, तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ हजार १०० रुपैयाँले बढेर २ लाख ४७ हजार रुपैयाँ पुगेको छ।



चाँदीको मूल्यमा पनि ऐतिहासिक वृद्धि
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। हिजो तोलाको ३ हजार २२० रुपैयाँ रहेको चाँदी आज १ सय ५ रुपैयाँले बढेर तोलाको ३ हजार ३२५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो।
बढ्दो मूल्यको कारण के हो ?
विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, अमेरिकी डलरको अवमूल्यन, तथा भूराजनीतिक तनावहरू (जस्तै इजरायल–हमास द्वन्द्व, युक्रेन–रुस युद्ध) लगायतका कारणले सुन र चाँदीको मूल्यमा अस्थिरता देखिएको हो। नेपालमा सुन आयात मुख्यतः अन्तर्राष्ट्रिय मूल्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। त्यसैले, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नेबित्तिकै त्यसको प्रभाव नेपाली बजारमा तुरुन्त देखिने गरेको हो।
सुनचाँदी व्यवसायीको प्रतिक्रिया :
काठमाण्डौका एक सुन व्यवसायीका अनुसार, “मूल्य लगातार बढिरहेकाले ग्राहकमा केही हिच्किचाहट देखिन्छ, तर वैवाहिक सिजन नजिकिँदै जाँदा सुनको मागमा कमी छैन।”
हालको दर (असोज २७ गते सोमबार)
मूल्य (प्रति तोला)
छापावाला सुन रु २,४८,५००
तेजाबी सुन रु २,४७,०००
चाँदी रु ३,३२५



