म्याग्दी । देशभर प्रतिकूल मौसम र चक्रवात ‘मोन्था’ को प्रभावले हवाई र पदयात्रा दुवै क्षेत्रमा समस्या सिर्जना भइरहेको बेला म्याग्दीको अन्नपूर्ण बेसक्याम्प (एबीसी) क्षेत्रमा फसेका पर्यटकहरूको उद्धार कार्य सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल (APF) ले आज बिहानसम्म अन्नपूर्ण बेसक्याम्प घुम्न गएका १६२ जना पर्यटकलाई सुरक्षित रूपमा उद्धार गरेको हो। ती पर्यटकहरू पछिल्ला केही दिनदेखि लगातारको वर्षा र हिउँपातका कारण बाटो अवरुद्ध हुँदा बेसक्याम्प क्षेत्रमा फसेका थिए।

सशस्त्र प्रहरी बलका अनुसार उद्धार कार्य सशस्त्र प्रहरी बल म्याग्दी २४ नम्बर गणस्थानीय सुरक्षा टोलीको समन्वयमा सम्पन्न गरिएको हो। टोलीले बिहानैदेखि पैदल उद्धार अभियान सुरु गरी बेसक्याम्प र वरपरका क्षेत्रमा अड्किएका पर्यटकहरूलाई तल झारिएको जनाएको छ।

उद्धार गरिएकामध्ये नेपाली तथा विदेशी पर्यटक दुवै रहेका छन्। सबैलाई डेउराली र सिन्नवा क्षेत्रमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको र कोही गम्भीर घाइते नभएको पुष्टि गरिएको छ।

प्रतिकूल मौसमका कारण हिउँपात र चिसो बढ्दा यात्रुहरूलाई ठुलो समस्या परेको थियो। केही पर्यटकहरू बेसक्याम्पका होटलहरूमा आश्रय लिएर बसेका थिए भने केही बीच बाटोमै अड्किएका थिए।

सशस्त्र प्रहरीले भनेको छ, “हामीले बिहानसम्म १६२ जनाको उद्धार गर्न सफल भयौं। सबैको अवस्था सामान्य छ र कसैलाई ठूलो क्षति पुगेको छैन।”

यसअघि पनि हिउँपात र वर्षाका कारण अन्नपूर्ण क्षेत्रका ट्रेकिङ मार्गहरूमा हरेक वर्ष पर्यटक फस्ने घटना हुने गर्छ। हाल पनि मौसममा सुधार नआएकाले सुरक्षा निकायले सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बङ्गालको खाडीबाट आएको चक्रवात ‘मोन्था’ को प्रभाव अझै कायम रहेकाले आगामी केही दिनसम्म देशका मध्य र पूर्वी भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय