काठमाडौं । अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १ सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो ।



अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवद्र्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको संख््यामा पर्यटक आएका जानकारी दिनुभयो । उहाँले
दशैंलगत्तै आधार शिविरमा दैनिक दुई सयदेखि पाँच सय जनासम्म पर्यटक आइरहेको बताउँछन् । आधार शिविरमा दुई वर्षअघिसम्म वसन्त याममा हेलिकप्टरमार्फत आरोहीहरू मात्र पुग्ने गर्दथे । पदमार्गमा रहेका होटलको क्षमताभन्दा बढी संख्यामा पाहुना आएकाले व्यवस्थापनमा समस्या भएको व्यवसायीहरु बताउँछन् ।
नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रापछि पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य बनेको छ ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।
नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।
सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुइस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेकाले अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामाकरण अन्नपूर्ण हिमालबाट गरिएको छ ।
नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ । आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ ।
एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो ।
आधार शिविरमा प्रथम ओहरण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुइस लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना र हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका पाँच सय ३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुला सङ्ग्रहालय पनि रहेको छ ।
अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा फुतफुते झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन गरेको थियो । हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ ।
गुफाफाँट र आधार शिविरमा एक–एकवटा शौचालय निर्माण भएको छ । हुमखोलादेखि साधीखर्कसम्मको पदमार्गमा ढुङ्गा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको छ । नारच्याङका बासिन्दाले गत वसन्तयामदेखि हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रिया पूरा गरेर सरकारबाट अनुमति लिनुपर्छ ।
हुमखोलादेखि माथि सञ्चार र विद्युत् सुविधाको अभाव छ । सञ्चार सुविधाको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गर्न र पाहुनाको व्यवस्थापनमा समस्या भएको छ । बढ्दो पाहुनाको आगमनसँगै फोहर व्यवस्थापन पनि यहाँको अर्को चुनौती बनेको छ । पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुङ्गे पुलको स्तरोन्नति गर्नेुपर्ने आवश्यकता छ ।



