काठमाडौं । गत भदौ २४ गतेको जेन–जी आन्दोलन, प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीबाट क्षति पुगेको चन्द्रागिरि केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सले केबलकार निर्माण कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाएर आवश्यक मर्मत, सुरक्षा परीक्षण र निरीक्षणका सबै प्रक्रिया पूरा गरी सेवा पुनः सुचारु गरेको हो ।



सेवा पुनः सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकले पुनः भालेश्वर महादेव मन्दिर दर्शन गर्न र रिसोर्टको आतिथ्यता तथा मनोरञ्जन सेवाहरू उपभोग गर्न सक्ने भएका छन् । सेवा बन्द हुनु अघि दैनिक करिब दुई हजार पर्यटकले केबलकारमार्फत यात्रा गर्ने गरेका थिए । कम्पनीले सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीय समुदायले देखाएको सहयोग र विश्वासका लागि पनि धन्यवाद व्यक्त गरेको छ ।
चन्द्रागिरि हिल्स नेपालकै लोकप्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये एक हो, जहाँबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन सकिन्छ । पुनः सञ्चालनसँगै स्थानीय व्यवसाय र पर्यटकीय गतिविधि पनि पुनर्जीवित हुने विश्वास गरिएको छ । गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो ।



