काठमाडौं । उपत्यका प्रवेशको मुख्य नाका नागढुंगाको कमाण्डमा प्रहरी निरीक्षक देवानन्द मिश्र आउनु भएको छ । असोज १३ गतेबाट नागढुंगा आउनु भएका मिश्रले आज विभिन्न व्यक्तिहरुसँग परिचय तथा समसामयिक विषयमा छलफल गर्नुभएको छ ।

प्रहरी प्रभाग नागढुंगामा भएको छलफलमा चन्द्रागिरि नगरपालिका वडा नं. २ का जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, स्थानीयवासी, समाजसेवीलगायतको सहभागिता रहेको थियो । छलफलमा सहभागीहरुले नागढुंगाको बस्तुस्थिति, त्यहाँ हुने गतिविधि, सवारी आवागमनलगायत विषयमा प्रहरी निरीक्षक मिश्रको ध्यानाकर्षण गराएका थिए ।

प्रहरी निरीक्षक देवानन्द मिश्रले प्रहरी मेरो साथी नारालाई सार्थक रुपमा प्रस्तुत गर्न आफू तयार रहेको र आफूलाई पनि सहयोग अपरिहार्य रहेको बताउनु भयो । उहाँले यहाँको बस्तुस्थिति बुझिरहेको र केही गुनासालाई कार्यान्वयतर्फ लगिसकेको जानकारी दिनुभयो । उहाँले भर्खरै भएको जेनजी आन्दोलनको क्रममा नागढुंगा परिसरमा रहेको ७ वटा सीसीटिभिमा क्षति पुगेकोले सुरक्षामा केही चुनौति रहेको उल्लेख गर्दै आफ्नो गाउँ टोल, बस्ती तथा घर वरपर हुने शंकास्पद गतिविधि प्रहरीलाई जानकारी दिन आग्रह पनि गर्नुभयो ।

सोही कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख किरण राउतले नागढुंगामा सवारी आवागमन सहज संचालनका लागि आफू हरपल लागिपरेको बताउनुभयो । उहाँले आन्दोलनका क्रममा ट्राफिक पोष्ट आगजनीबाट ध्वस्त भएकोले प्रशासनिक काममा असहज भइरहेको गुनासो गर्नुभयो ।

यस्तै चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का कार्यबहाक वडाअध्यक्ष लबराम सुवेदीले नागढुंगा ट्राफिक पोष्ट निर्माणका लागि वडासमितिले निर्णय गरिसकेको तर सामाग्री नआइपुगेकोले केही ढिला हुन गएको जानकारी दिनुभयो । उहाँले नागढुंगा, बाणभञ्ज्याङ, मसिनेलगायतको बाटोभई लागुऔषध ओसारपसार भइरहेकोले त्यसतर्फ विशेष निगरानी बढाउन पनि आग्रह गर्नुभयो ।

जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग नागढुंगा, ट्राफिक प्रहरी पोष्ट नागढुंगा, प्रहरी प्रभाग बलम्बुमा आगजनी तथा तोडफोड भएको थियो । अहिले वडा तथा विभिन्न व्यक्ति, संघसंस्थाको पहलमा प्रहरी प्रभाग सञ्चालनमा आए पनि ट्राफिक प्रहरी पोष्ट भने पुनर्निर्माण हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय