काठमाडौं । हुम्लाको सदरमुकाम सिमिकोटमा चार दिनदेखि विजुली आपूर्ति बन्द भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएपनि मर्मत हुन नसक्दा विद्युत् आपूर्ति बन्द भएको हो ।



विद्युत आपूर्ति बन्द हुँदा निजी तथा सरकारी कामकारवाही पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ । केही सरकारी कार्यालयमा ‘सोलार’ राखिएको भएपनि जाँडो महिनामा खासै घाम नलाग्दा मोबाइल चार्ज गर्न समेत समस्या भएको छ ।
मोबाइल र ल्यापटप चार्ज गर्नसमेत नपाएकाले समाचार संकलन र सम्प्रेषणमा समेत समस्या भइरहेको छ । सदरमुकाम सिमिकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको विद्युत् गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले बताउनुभयो ।
चार दिन देखि विद्युत आपूर्ति नहुँदा सरकारी कामकागमा समस्या परेकोले मर्मत कार्य चाँडो गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । प्राधिकरणले शनिबारसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने गरी काम भइरहेको जनाएको छ ।



