भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा अस्वभाविक र असंगत’ बल प्रयोग भएको ह्यूमन राइट्स वाचले निष्कर्ष निकालेको छ । मानव अधिकारको अवस्थाबारे विश्वव्यापी अनुगमन गर्ने संस्था ह्यूमन राइट्स वाचले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै भदौ २३ गते प्रदर्शनकारीहरुमाथि करिब ३ घण्टा धेरैपटक गोली चलेको निचोड निकालेको हो । ह्यूमन राइट्स वाचले संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसैको प्रतिक्रियास्वरुप भोलिपल्ट व्यापक आगजनी र लुटपाट भएको निष्कर्ष निकालेको हो । तर, उसले त्यसमा ‘जेनजी’ प्रदर्शनसँग सम्बन्धित नभएका व्यक्तिहरु पनि संलग्न भएको भनेको छ ।

हिंसाको अनुसन्धान गर्न बनेको न्यायिक आयोगले पारदर्शी रुपमा काम गर्नुपर्ने र कानून तोड्ने जोकोहीलाई अनुसन्धान र अभियोजनमा ल्याउन सक्षम हुनुपर्ने औल्याइएको छ । जेनजी आन्दोलनपछि बनेको सरकारले पहिलो र दोस्रो दिनको घटनामा संलग्न सबैको छानविन हुनुपर्छ भनिएको छ । भदौ २३ को घटनाले भदौ २४ को हिंसा भड्किएको भन्दै ह्यूमन राइट्स वाचले आगजनी, कुटपिट र आक्रमणहरुमा प्रदर्शनसँग असम्बन्धित मानिसहरु सक्रिय भएको निष्कर्ष निकालेको छ । सरकारी भवन, राजनीतिज्ञ, पत्रकार र अन्य व्यक्तिको घर आगजनी हुँदा, उनीहरू कुटपिटमा पर्दा सुरक्षा बल ‘प्रभावकारी हस्तक्षेप गर्न’ असफल देखिएको उसको निष्कर्ष छ ।

दोस्रो दिन धेरै ठाँउमा सुरक्षाकर्मीहरु नरहेको र त्यसले गर्दा जनधन सुरक्षित हुन नसकेको अध्ययनको निष्कर्ष छ ।यस्तै विभिन्न राजनीतिक समूह र घुसपैठियाहरु यस्ता गतिविधिमा संलग्न भएको हुनसक्ने औल्याइएको छ । ह्यूमन राइट्स वाचले जाँचबुझ आयोगलाई सुरक्षाबलको भूमिका, घुसपैठको आरोप र अरु आपराधिक गतिविधि सबैको अनुसन्धान गर्न सुझाव दिएको छ । दुई साता अघिसम्म प्रहरीले जेनजी आन्दोलनका दुई दिनको घटनामा संलग्न भएको आरोपमा ४२३ जनालाई पक्राउ गरेको तर अघिल्लो दिन गोली चलाउने प्रहरी अधिकारीमाथि कुनै कारबाही नभएको भन्दै प्रश्न उठाइएको छ । भ्रष्टाचार, उचित जीवनस्तरको अभाव लगायत नागरिक अधिकारको विषय जोडिएर आन्दोलन भएको औंल्याउँदै उसले विगतका ती विफलतालाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सम्बोधन गर्नुपर्छ भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय