काठमाडौं । सन् २०२६ मा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो ।
भारत र श्रीलंकामा हुने आइसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ । सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन् । नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, बङ्गलादेश र इटाली छन् । वेस्ट इन्डिज र इङ्ल्यान्ड दुबै दुई–दुई पटकका विश्वविजेतासमेत हुन् ।



नेपालको पहिलो खेल आगामी फेब्रुअरी ८ तारिखमा मुम्बईस्थित वान्खडे रंगशालामा इङ्ग्ल्यान्डसँग हुनेछ ।
यस्तै नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा बङ्गलादेशसँग हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
योसँगै नेपाल तेस्रोपटक विश्वकपमा सहभागी हुँदैछ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो ।



