बहुविवाहको आरोपमा प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतको अनुमति लिएर उनलाई पक्राउ गरेको हो। नेपाल जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपालकी पहिलो श्रीमतीले दर्ता गराएको उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो।
“बहुविवाहको केस परेपछि उहाँ आफैं हिजो साँझ आउनुभएको थियो। पक्राउ गरी म्याद थप गरिएको छ,” एसपी क्षेत्रीले बताए। नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी जनाएको छ। बहुविवाहसम्बन्धी थप प्रमाण संकलन भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी जारी रहेको एसपी क्षेत्रीले जानकारी दिए। प्रहरी निरीक्षकका रूपमा बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्ज रहँदा नै नेपाल गाँजाको अवैध कारोबारसँग सम्बन्धित आर्थिक लेनदेनमा संलग्न रहेको प्रमाण भेटिएपछि उनी विभागीय कारबाहीमा परेका थिए।






