काठमाडौं । गाईभैंसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको पशुमा खोरेत समस्या देखिएको हो ।
पशु सेवा कार्यालय प्रमुख डा. प्रभात न्यौपानेले भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग देखिएको जनाएका छन् । रत्ननगरमा रहेका गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट नतिजा आएको छैन । मङ्सिर ११ गते भरतपुर महानगर क्षेत्रका गाईको नमूना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा पठाइएको र १६ गते नतिजा आएको उहाँले बताउनुभयो ।



कार्यालय प्रमुख डा. न्यौपानेले हाल रोग देखिएका क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । भाइरसका कारण सर्ने यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती भए गर्भतुहिने, दूध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दानापानी नखानेजस्ता लक्ष्यण देखिने गरेको छ ।
जिल्लाका सबै पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको भएपनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुमा यो रोग देखिएको हुनसक्ने जनाइएको छ । जङ्गली जनावरबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैंसीमा बढी सङ्क्रमण देखिने गरेको छ ।



