शसस्त्र प्रहरी बल सिन्धुपाल्चोकले सोमबार राति करिब २२ लाख रुपैयाँ बराबरको अवैध सामानसहित एक गाडी नियन्त्रणमा लिएको छ । बिल–बिजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चिनियाँ किराना सामान बोकेको बा ४ ख ५८६४ नम्बरको आईचर (मिनि टिपर) गाडी चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।शसस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वाटर सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक अच्युत कुमार मजगैँयाका अनुसार मध्यरातमा तातोपानीबाट खाडीचौरतर्फ आउँदै गरेको गाडीलाई रोकी जाँच गर्दा अवैध सामान फेला परेको थियो । बरामद गरिएको चिनियाँ किराना सामानको अनुमानित मूल्य ७ लाख २२ हजार १० रुपैयाँ रहेको छ ।
घटनामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ मान्द्राका करिब ३६ वर्षीय चालक शिवलाल तामाङलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको गाडीको मूल्य करिब १५ लाख रुपैयाँ रहेको छ ।बरामद गरिएको सामान र गाडी गरी जम्मा २२ लाख २२ हजार १० रुपैयाँ बराबरको सम्पत्ति आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






