काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा भएको ठूलो लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पुस २९ गते साँझ करिब साढे ७ बजे खुकुरी र पेस्तोल बोकेका नकाबधारी समूहले बैंकमा प्रवेश गरी लुटपाट गरेका थिए । लुटेराहरूले बैंकका सुरक्षागार्ड रुद्रबहादुर कार्कीमाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए भने कर्मचारी र सुरक्षागार्डलाई दुई कोठामा बाँधेर राखी भल्टमा रहेको रकम बोरा र झोलामा भरेर जंगलतर्फ फरार भएका थिए ।



घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली बैंकमा पुगेको थियो । बाँधिएका कर्मचारी तथा सुरक्षागार्डको उद्धार गरी घाइते गार्डलाई उपचारका लागि अस्पताल पठाइएको थियो । त्यसपछि प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीको कमाण्डमा ५० जनाभन्दा बढी प्रहरी परिचालन गरी व्यापक खोजी अभियान सञ्चालन गरिएको थियो । लुटपाटको खबर गाउँभर फैलिनासाथ स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयोग गरेका थिए । सोही क्रममा घटनास्थलबाट करिब दुई किलोमिटर टाढा बागमती प्रदेश ०३–९८ नम्बरको गाडी नियन्त्रणमा लिइयो । गाडी चालक काभ्रेका भागवत सिंह थापालाई सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा जंगलका विभिन्न स्थानमा लुकाइएका तथा छरिएका अवस्थामा १ करोड ८० लाखभन्दा बढी रकम फेला परेको थियो । त्यसपछि पुस ३० गते बिहान घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट थप चार जनालाई नियन्त्रणमा लिँदा उनीहरूको साथबाट नगद रकम समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा काभ्रेका भागवत सिंह थापा, सिन्धुलीका चतुरमान बज्यु, सिन्धुलीका विवेक मगर, छविलाल स्याङ्तान, चितवनका शशांक श्रेष्ठ, नुवाकोटका मिलन गिरी तथा एक नाबालक रहेका छन्। प्रहरीका अनुसार छविलाल स्याङ्तान बैंक सञ्चालन भइरहेको घरका घरधनीसमेत हुन्।
अनुसन्धानबाट घरधनी छविलाल स्याङ्तान र उनका जेठान चतुरमान बज्यु लुटपाट योजनाका मुख्य योजनाकार रहेको खुलेको प्रहरीले जनाएको छ । उनीहरूले असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाइ सूचना संकलन गर्दै आएको पाइएको छ । यसअघि पनि उनीहरूले बैंक लुट्ने प्रयास गरे पनि परिस्थिति अनुकूल नहुँदा योजना स्थगित गरिएको थियो । लुटपाटमा प्रयोग गरिएका नकाब, पञ्जा तथा नक्कली पेस्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । नेपाल एसबिआई बैंक शाखाका अनुसार उक्त दिन बैंकबाट कुल ३ करोड ७ लाख रुपैयाँ लुटिएको थियो, जसमध्ये हालसम्म २ करोड ६८ लाख ५५ हजारभन्दा बढी रकम बरामद भइसकेको छ ।
प्रहरीका अनुसार घटनामा अझै अन्य व्यक्ति संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान जारी छ। पक्राउ परेका सातै जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



