राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएको छ। सहमतिसँगै तयार गरिएको लगानी ढाँचा अब निर्णयका लागि मन्त्रिपरिषद्मा पेश गरिनेछ।
१२०० मेगावाट क्षमताको आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड अमेरिकी डलर, नेपाली रुपैयाँमा करिब ३ खर्ब ७४ अर्ब अनुमान गरिएको छ। प्रस्तावित मोडालिटीअनुसार आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वःपूँजी (इक्विटी) बाट लगानी जुटाइनेछ। यो ढाँचा पूर्व ऊर्जामन्त्री कुलमान घिसिङको कार्यकालमा तयार पारिएको हो।



सरकारको तर्फबाट आयोजनामा इक्विटीका रूपमा ७९ अर्ब ४७ करोड रुपैयाँ र सहुलियतपूर्ण कर्जाका रूपमा १ खर्ब ५० अर्ब रुपैयाँ लगानी रहने जनाइएको छ। यसअघि विभिन्न चरणमा आयोजनामा खर्च भइसकेको करिब ४५ अर्ब रुपैयाँलाई आयोजनाको कम्पनीमा शेयर लगानीका रूपमा रूपान्तरण गरिनेछ।
पूर्व ऊर्जामन्त्री घिसिङले लगानी मोडालिटीमा सहमति हुनु बूढीगण्डकी आयोजना निर्माणतर्फ अघि बढ्ने महत्वपूर्ण मोड भएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले स्वदेशी लगानीकै आधारमा यति ठूलो आयोजना निर्माण गर्न सकिने आत्मविश्वासका साथ मोडालिटी तयार गरिएको उल्लेख गरेका छन्। लामो समयदेखि अन्योलमा रहेको आयोजना अब कार्यान्वयनतर्फ जानुपर्ने बेला आएको भन्दै ढिलाइ नगरी काम सुरु गर्नुपर्नेमा उनले जोड दिएका छन्।
बूढीगण्डकी आयोजना विद्युत् उत्पादनसँगै देशको ऊर्जा आत्मनिर्भरताको आधार बन्ने अपेक्षा गरिएको छ।



