काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङघाटमा आइतबार घर प्लास्टर गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई पुरुष पुरिएका छन् । घटनापछि तत्काल उद्धारको आवश्यकता परेपछि गजुरीबाट खटिएको नेपाली सेनाको भैरव दल गणको टोली घटनास्थलमा पुगेर उद्धारकार्य सञ्चालन गरेको थियो ।
सैनिक टोलीले ढिस्कोले पुरिएका दुबै जनालाई सुरक्षित रूपमा बाहिर निकाल्दै प्रारम्भिक उपचार गरेको र थप उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल पठाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



सेनाको छिटो प्रतिक्रिया र तत्परताले ठूलो मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । हाल उद्धार गरिएका दुबै व्यक्तिको स्वास्थ्य अवस्था स्थिर रहेको र अस्पतालमा आवश्यक जाँच तथा उपचार भइरहेको छ ।
यसैबीच, स्थानीय बासिन्दाहरूले घर निर्माण तथा मर्मतसम्भारका क्रममा आवश्यक सुरक्षा सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा काम गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।



