मुक्तिनाथ — भारी हिमपातका कारण मुक्तिनाथ जाने सडकखण्ड अवरुद्ध बनेको छ। यसले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरलाई सुनसान बनाएको छ। बुधबार बिहानदेखि जोमसोमबाट मुक्तिनाथ जान लागेको सवारीसाधन माथि उक्लिन सकेको छैन, किनभने सडकमा बाँक्लो हिउँ जमेको छ। सशस्त्र प्रहरीको टोलीले बिहान हिउँ पन्छाएर सडक खुलाउने प्रयास गरे पनि थप हिमपात हुने सम्भावना देखिँदा काम रोकिएको थियो।

वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमे्श गुरुङका अनुसार, कागबेनी—मुक्तिनाथ सडक अन्तर्गत कागबेनीको पहिलो मोडदेखि कागबेनी सेल्फी पार्क, कालोभीर, खिंगा, झारकोट लगायत स्थानमा हिउँ जमेकाले सडक अवरुद्ध भएको हो। सवारीसाधन रोकिएपछि केही दर्शनार्थी कागबेनीबाटै घोडा चढेर मुक्तिनाथ पुग्ने प्रयास गरिरहेका छन्। मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार हिमपातपछि मन्दिरमा दर्शनार्थी र पर्यटकको आगमनमा समस्या थपिएको छ। हिमपात अघि दैनिक करिब ५०० भन्दा बढी पर्यटक आउने गरेका थिए, तर बुधबारदेखि भक्तजनको उपस्थित अत्यन्त कम रहेको उनले जानकारी दिए।

भुसालले बताएअनुसार, सडक सञ्चालनमा नआएसम्म मन्दिरको दैनिक क्रियाकलाप पूजापाठमा सीमित रहनेछ। मंगलबार राति परेको भारी हिमपातका कारण मुक्तिनाथ क्षेत्र पूरै हिउँले ढाकिएको छ। वारागुङ मुक्तिक्षेत्रका झारकोट, खिंगा, रानीपौवा बजार, पुराङ, छेङ्गुर लगायतका गाउँ पूरै सेताम्मे भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय