काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–६ दशकिलास्थित पृथ्वीलोकमार्गमा दुईवटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज बिहान करिब साढे ७ बजे दाङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको बस एकआपसमा ठोक्किएका हुन् । ठक्करपछि दुवै बस नजिकै रहेको टिनले छाएको खाजा पसलमा समेत ठोक्किँदा थप क्षति भएको प्रहरीले जनाएको छ ।



दुर्घटनाको समयमा खाजा पसलमा चिया खाँदै गरेका ट्रिपर चालक धुनिवेशी नगरपालिका–९ स्याउले निवासी ३५ वर्षीय सुजन तामाङ गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारको लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर लगिएपनि चिकित्सक मृत घोषणा गरेको थियो ।
दुर्घटनामा खाजा पसलका सञ्चालक बाँके वैजनाथ गाउँपालिका–१ घर भई हाल सोही स्थानमा बसोबास गर्दै आएका ५४ वर्षीय खगेश्वर शर्मा खुट्टामा चोट लागेर घाइते भएका छन् । उनको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा सवार अन्दाजी ८ वर्षीया सफलता पुलामी मगर सामान्य घाइते भएकी थिइन् । उनको थाक्रे पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
दुवै बसमा सवार अन्य यात्रुहरू भने सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोला धादिङ र प्रहरी चौकी महादेवबेशीबाट ट्राफिक प्रहरीसहितको टोली खटिएर घाइतेहरूको उद्धार गरेको थियो ।
हाल दुर्घटनास्थलमा सवारी आवागमन सुचारु रहेको छ भने दुर्घटनामा संलग्न दुवै बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




