काठमाडौं । सुपर खुदी हाइड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।



कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो । जसमध्ये १५ लाख ५० हजार कित्ता स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट भइसकेको छ । साथै ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा वितरण गरिएको छ ।
अब कम्पनीले ३१ हजार कित्ता कर्मचारीका लागि छुट्याई बाँकी १२ लाख ८६ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ । न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा फागुन ११ र ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिनेछ ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्छ । कम्पनीको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजना सञ्चालनमा रहेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटर लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।



