काठमाडौं । उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोकलाई बागमती प्रदेशको ‘नमूना कार्यालय’का रूपमा घोषणा गर्दै औपचारिक रुपमा शुभारम्भ गरिएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, बागमती प्रदेशकी मन्त्री बिन्दु श्रेष्ठले उक्त कार्यक्रममार्फत कार्यालयलाई नमूना कार्यालयका रूपमा शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले केवल घोषणा गरेर मात्र काम नहुने बताउँदै सेवाग्राहीले अनुभूति गर्ने गरी सेवा प्रवाह सुधार गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सरकारी कार्यालयको मुख्य उद्देश्य जनतालाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउनु भएकाले त्यसतर्फ सबै कर्मचारी जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री श्रेष्ठले सेवाग्राहीको सन्तुष्टि नै सरकारी सेवाको वास्तविक मूल्याङ्कन हुने बताउँदै कार्यालयहरूलाई सेवा प्रवाहमा प्रभावकारिता, पारदर्शिता र जवाफदेहितालाई अझ मजबुत बनाउन आग्रह गर्नुभयो । नमूना कार्यालयको अवधारणाले अन्य कार्यालयहरूलाई पनि सकारात्मक प्रतिस्पर्धा र सुधारको बाटोमा अघि बढाउन सहयोग पुग्ने उहाँको दाबी थियो ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाकी उत्कृष्ट उद्यमी कमला लामालाई सम्मान गरिएको थियो । उहाँलाई जिल्लामा उद्यमशीलता प्रवद्र्धन तथा उत्पादनमूलक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा कार्यालयका तर्फबाट आगामी दिनमा सेवाग्राहीको सल्लाह, सुझाव र अपेक्षालाई आत्मसात गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

नमूना कार्यालयको रूपमा घोषणा भएपछि उद्योग तथा वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकले सेवा व्यवस्थापन, प्रशासनिक सुधार र सेवाग्राहीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिने विश्वास व्यक्त गरिएको छ । यस कदमले प्रदेशभित्रका अन्य सरकारी कार्यालयहरूलाई पनि सेवा सुधारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा मन्त्रालयका प्रदेश सचिव जीवलाल भुसाल, निर्देशक यादवनाथ आचार्य, मन्त्रालयका महाशाखा प्रमुखहरू, बागमती प्रदेशअन्तर्गत रहेका उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुखहरू, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य मञ्जु कोजुलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय