काठमाडौं । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, चन्द्रागिरि–७ काठमाडौंले १४औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनमा सहभागी हुन सम्पूर्ण सदस्यहरुलाई आग्रह गरेको छ ।



समितिले सार्वजनिक गरेको निमन्त्रणाअनुसार कार्यक्रम २०८२ साल चैत १३ र १४ गते सञ्चालन हुनेछ । ललितपुरको एकान्तकुनास्थित मेजिस्टिक ग्राण्डमा हुने उक्त कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ । कार्यक्रमको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरबाट हुने तय भएको छ ।
समितिका अध्यक्ष कृष्ण प्रसाद पन्तका अनुसार साधारण सभा तथा अधिवेशनमा विगत वर्षका गतिविधि, उपलब्धि र चुनौतीहरूको समीक्षा गरिनुका साथै आगामी कार्यदिशा तय गरिनेछ । यातायात क्षेत्रसँग सम्बन्धित नीतिगत विषय, व्यवसायीका समस्या तथा समाधानका उपायहरूबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा समितिमा आबद्ध व्यवसायी सदस्यहरू, प्रतिनिधिहरू तथा सरोकारवाला निकायका व्यक्तिहरूको सहभागिता रहनेछ । अध्यक्ष पन्तले सम्पूर्ण सदस्यहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई अधिवेशन सफल बनाउन अनुरोध गरेका छन् ।
आयोजकका अनुसार यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन विभिन्न प्रस्तावहरू प्रस्तुत गरिने तयारी गरिएको छ । समितिले कार्यक्रमलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पनि जनाएको छ ।
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति सक्रिय यातायात व्यवसायीहरूको छाता संगठनका रूपमा परिचित छ । यसले व्यवसायीहरूको हकहित संरक्षण, समन्वय तथा नीतिगत वकालतमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।



