काठमाडौं । पाँचौं ब्राइट फ्युचर एसइई कप फुटसलको उपाधि विल्सन एकेडेमीले जितेको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १४ नैकापस्थित ब्राइट फ्यूचर मा.वि.मा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा रिब्स माविलाई एक शून्य पराजित गर्दै विल्सन एकेडेमीले उपाधि उचालेको हो । गतवर्ष एसइई दिएका विभिन्न ८ विद्यालयका टोलीले सहभागिता जनाएको प्रतियोगितामा व्यक्तिगत विधातर्फ रिवाज कार्की सर्वोत्कृष्ट गोलरक्षक घोषित भए ।



यस्तै, विल्सनका प्रवीण शाही सर्वोत्कृष्ट गोलकर्ता र रिब्सका आयन केसीले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । प्रतियोगिताका विजेताले ३५ हजार रूपैयाँ तथा कक्षा ११ मा अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पाएका छन् भने उपविजेताले २० हजार नगद तथा कक्षा ११ मा अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाएको ब्राइट फ्युचर माविका अध्यक्ष मोहनकुमार कार्कीले जानकारी दिनुभएको छ । प्रतियोगितामा व्यक्तिगत विधामा सर्वोत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँ प्रदान गरिएको पनि अध्यक्ष कार्कीले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको समापन कार्यक्रम सभापति मोहन कार्कीको अध्यक्षतामा तथा जिल्ला खेलकुद विकास समिति काठमाडौंका अध्यक्ष भाई कृष्ण बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । ब्राइट फ्युचर मावि प्राङ्गण्मा आयोजित समापन समारोहमा ब्राइट फ्युचर माविका अध्यक्ष मोहन कार्कीले आयोजक तथा सहभागी टिमहरूको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता जनाउनु भयो । उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।



