काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न कालखण्डमा जीवित देवी (कुमारी) का रूपमा सेवा गरेका आठ जना पूर्वकुमारीहरूले चन्द्रागिरि डाँडास्थित भालेश्वर महादेव मन्दिरको दर्शन गरेका छन् । चन्द्रागिरि नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पूर्वकुमारीहरूलाई धार्मिक तथा सांस्कृतिक सम्मानका साथ भालेश्वर महादेवको दर्शन गराइएको हो ।

नेपाली समाजमा कुमारी परम्परा धार्मिक आस्था, संस्कृति र सभ्यताको महत्वपूर्ण प्रतीकका रूपमा स्थापित छ । जीवित देवीका रूपमा पूजिने कुमारीहरू आफ्नो कार्यकाल समाप्त भएपछि सामान्य जीवनमा फर्किए पनि उनीहरूको योगदान र गरिमालाई समाजले विशेष सम्मानका साथ स्मरण गर्ने गरेको छ । यही परम्परालाई सम्मान गर्दै चन्द्रागिरि नगरपालिकाले पूर्वकुमारीहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरी दर्शन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा पूर्वकुमारीहरू चन्द्रागिरि हिल्सको केबलकारमार्फत भालेश्वर महादेव मन्दिर पुगेका थिए । सहभागीमध्ये केही पूर्वकुमारीहरूले जीवनमै पहिलोपटक केबलकारको अनुभव प्राप्त गरेको बताउँदै खुसी व्यक्त गरेका थिए । उनीहरूका लागि यो केवल धार्मिक यात्रामात्र नभई नयाँ अनुभव र स्मरणीय अवसरसमेत बनेको सहभागीहरूले बताएका छन् ।

पूर्वकुमारीहरूको स्वागतका लागि विभिन्न बाजा समूहले सांस्कृतिक धुन प्रस्तुत गरेका थिए ।

पूर्वकुमारीहरूका लागि आयोजित दर्शन कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी, नगर कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा चन्द्रागिरि हिल्स व्यवस्थापनका अधिकारीहरूको सहभागिता रहेको थियो ।

पूर्वकुमारीहरूको सम्मानमा आयोजित यो कार्यक्रमले नेपाली समाजमा जीवित देवी परम्पराप्रतिको श्रद्धा, सम्मान र सांस्कृतिक निरन्तरताको सशक्त सन्देश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय