काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सडक सुरक्षालाई थप प्रभावकारी बनाउने र सवारी व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्यका साथ नगरकै पहिलो ट्राफिक लाईट संचालनमा ल्याएको छ । नगर प्रमुख घनश्याम गिरीले औपचारिक रूपमा ट्राफिक लाईटको उद्घाटन गर्दै यसलाई सुरक्षित, व्यवस्थित र आधुनिक चन्द्रागिरि निर्माणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताउनु भयो ।

प्रमुख गिरीले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि थप ट्राफिक व्यवस्थापन विस्तार गर्न नगरपालिकाले दुई करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । उहाँले कलंकीको खड्कुले पुलदेखि नागढुंगासम्मको मुख्य सडक खण्डमा करिब ११ देखि १२ स्थानमा नयाँ ट्राफिक लाईट जडान गरिने योजना रहेको पनि जानकारी गराउनु भयो ।

प्रमुख गिरीले ट्राफिक लाईट जडानका लागि दुर्घटनाको जोखिम बढी रहेका चोक, व्यस्त सडक तथा सवारी चाप अत्याधिक हुने क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो । यसले सडक पार गर्ने पैदल यात्रुदेखि सवारी चालकसम्म सबैलाई सुरक्षित र व्यवस्थित आवतजावतमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चन्द्रागिरि तीव्र शहरीकरणको चरणमा रहेको उल्लेख गर्दै त्यसअनुसार आधुनिक पूर्वाधार र प्रविधिमैत्री यातायात प्रणाली विकास गर्नु समयको आवश्यकता भएको बताउँदै ट्राफिक लाईटको स्थापना केवल पूर्वाधार विस्तार मात्र नभई सडक अनुशासन, नागरिक सुरक्षा र व्यवस्थित शहरी विकासतर्फको दीर्घकालीन लगानी भएको धारणा राख्नुभयो ।

उहाँले ट्राफिक लाईट संचालनसँगै अनियन्त्रित सवारी आवागमनमा कमी आउने, सडक दुर्घटनाको जोखिम घट्ने, ट्राफिक जाम व्यवस्थापनमा सहजता आउने तथा समग्र यातायात प्रणालीलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाले आगामी दिनमा बढ्दो सवारी चाप र शहरी विस्तारलाई मध्यनजर गर्दै आवश्यक स्थानमा आधुनिक ट्राफिक व्यवस्थापनका थप संरचना विस्तार गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय