काठमाडौं । चन्द्रागिरि मिडिया सेन्टरको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सहकार्यमा संचालन गरिएको जीपीएस–जीआईएस (ग्लोबल पोजिसनिङ सिस्टम तथा जियोग्राफिक इन्फर्मेसन सिस्टम) सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ । वडा नं. २, ६ र ७ का सहभागीलाई लक्षित गरी संचालन गरिएको तालिमको संयुक्त समापन कार्यक्रम हाइभिजन महिला समूहको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले सूचना प्रविधिको अधिकतम उपयोगमार्फत चन्द्रागिरिलाई आधुनिक र प्रविधिमैत्री नगरका रूपमा विकास गर्ने अभियानलाई नगरपालिकाले निरन्तर अघि बढाइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले करिब नौ वर्षअघि नै नेपालमै पहिलो पटक स्थानीय तहमा जीपीएस–जीआईएस प्रणाली कार्यान्वयनको पहल गरेको जानकारी दिंदै अहिले यसले नगरमा सकारात्मक परिणाम देखिन थालेको उल्लेख गर्नुभयो ।



नगर प्रमुख गिरीले केही वडा अझै पूर्ण रूपमा प्रणालीमा आबद्ध हुन बाँकी रहे पनि टोल नम्बरिङ, डिजिटल नक्सांकन तथा आवश्यक पूर्वाधारको काम सम्पन्न भएपछि विश्वको जुनसुकै स्थानबाट पनि चन्द्रागिरि नगरपालिकासम्बन्धी आवश्यक सूचना सहज रूपमा प्राप्त गर्न सकिने वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारको कार्यसम्पादनलाई वस्तुगत रूपमा मूल्यांकन गर्न आग्रह गर्दै आफू निर्वाचित हुनुअघिको अवस्था र हालको नगरपालिकाको सेवा प्रवाह तथा विकासका उपलब्धिबीच तुलना गरेर सकारात्मक अभ्यासलाई उजागर गर्नुपर्ने धारणा राख्नुभयो ।
नगर उपप्रमुख बसन्ती श्रेष्ठले प्रविधिमैत्री स्थानीय शासन निर्माणका लागि यस्ता तालिम महत्वपूर्ण आधार बन्ने बताउँदै सहभागीहरूले तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रविधिको प्रभावकारी प्रयोगबाट सेवा प्रवाह थप सहज, छरितो र पारदर्शी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा नं. ७ का कार्यवाहक वडा अध्यक्ष रामशरण महतले OURNEWSCREW ले वडाका गतिविधि, विकास निर्माण तथा ओझेलमा परेका विषयलाई नागरिकसम्म पुर्याउन उल्लेखनीय योगदान दिएको बताउनुभयो ।
वडा नं. ६ का वडा अध्यक्ष संजय सिग्देलले सूचना प्रविधिको वर्तमान युगमा जीपीएस–जीआईएसजस्ता सीप युवाका लागि अवसरको ढोका खोल्ने माध्यम बनेको उल्लेख गर्नुभयो । उहाँले प्रविधिमा दक्ष जनशक्तिले रोजगारी र प्रतिस्पर्धात्मक क्षमतामा उल्लेखनीय लाभ लिन सक्ने बताउँदै डिजिटल प्रणालीको प्रयोगले समय, श्रम र आर्थिक स्रोतको समेत बचत हुने धारणा राख्नुभयो ।
वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष चन्द्रकुमारी गिरी बस्नेतले युवापुस्तालाई प्रविधिसँग जोड्ने उद्देश्यले वडाले पहिलो पटक यस प्रकृतिको तालिम संचालन गरेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि युवाको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका कार्यपालिका सदस्य सानुकान्छा परियार, वडा नं. ६ का वडा सदस्य लक्ष्मी थापा र शान्ता बलामी, वडा नं. ७ का वडा सदस्य भुवनकुमार केसी, हाइभिजन कोलोनी समाजका अध्यक्ष ताराबहादुर केसी, प्रेस चौतारी प्रदेश एसोसिएटका अध्यक्ष श्रीहरी थापा, चन्द्रागिरि पत्रकार संघका अध्यक्ष श्याम बलामी, विभिन्न विद्यालयका प्रधानाध्यापक, अधिवक्ता तथा समाजसेवी पुरुषोत्तम उदासलगायतको उपस्थिति रहेको थियो ।



