काठमाडौं । एसीसी वुमेन्स यू–१९ प्रिमियर कपमा नेपालले प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियामा सोमबार सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा नेपाली यू–१९ महिला टोलीले सिंगापुरलाई १५१ रनको विशाल अन्तरले पराजित गरेको हो ।
वाईएसडी यूकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा विकेट नगुमाई १९९ रनको सशक्त योगफल खडा ग¥यो । नेपालको इनिङ्समा दुवै ओपनरले उत्कृष्ट साझेदारी गर्दै विपक्षी बलिङलाई दबाबमा राखेका थिए ।



सना प्रविण शतकबाट केवल दुई रनले चुके पनि ९८ रनमा अविजित रहिन् । अर्की ओपनर सावित्री धामीले ७४ रनको अविजित योगदान दिँदै नेपालको विशाल स्कोर निर्माणमा महत्वपूर्ण भूमिका निभाइन् । उनीहरूको अविजित साझेदारीले नेपाललाई प्रतियोगिताकै प्रभावशाली योगफलमध्ये एक बनाउन सफल भयो ।
जितका लागि २ सय रनको कठिन लक्ष्य पछ्याएको सिंगापुर सुरुदेखि नै नेपाली बलरहरूको अनुशासित र धारिलो बलिङसामु दबाबमा रह्यो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै उसले केवल ४८ रन मात्र बनाउन सक्यो ।
सिंगापुरका लागि अङ्किता वर्षा राजले सर्वाधिक १९ रन बनाइन् भने ध्वनि प्रकाशले ८ रनको योगदान दिइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरका तीन ब्याटर भने रनको खाता नै खोल्न असफल भए ।
नेपालको जितमा अनु कडायत सर्वाधिक सफल बलर बनिन् । उनले चार ओभरमा मात्र चार रन खर्चेर तीन विकेट लिइन् । उनको स्पेलमा २० डट बल समावेश थियो, जसले सिंगापुरलाई खुलेर खेल्ने अवसर नै दिएन । मनीषा उपाध्याय र रिया शर्माले समान दुई–दुई विकेट लिए भने सोनी पाख्रिनले एक विकेट आफ्नो नाममा लेखाइन् ।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई १०५ रनले हराउँदै विजयी सुरुआत गरेको थियो । लगातार दोस्रो जितसँगै नेपाल समूह ‘डी’ मा बलियो अवस्थामा पुगेको छ । अब नेपाली टोलीले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।



