बागलुङमा आइफोन लुट्न आफ्नै साथीले एक युवकको हत्या गरेका छन् । बडिगाड गाउँपालिका–१ का लजिन थापाकाहरुले उनको हत्या गरेका हुन् । हत्यापछि शव लुकाएका उनका साथीहरुले गलत स्थान बनाइदिँदा प्रहरीले घटनाको ९ दिनपछि मात्र मृतकको शव फेला पारेको छ । साउन १ गते छिमेकी साथी असिम वनको जन्मदिन मनाउने भन्दै बोलाएका उनका साथीहरुले रातको समयमा रक्सी सेवन गरेको र राति अबेर भएपछि घर पु¥याइदिने भन्दै एकान्त स्थानमा पु¥याई लजिनको साथबाट आइफोन खोसेर उनीमाथि प्रहार गरेको खुलेको छ । मुक्का प्रहारबाट बेहोस भएका थापालाई ढुंगामुढाले हानेर हत्या गरेको र साथमा रहेको आइफोन लुटेको पक्राउ परेकाहरुले बताएका छन् । प्रहरीका अनुसार हत्या आरोपमा लजिनका साथीहरु ददी परियार र रेमबहादुर बिकसहित ४ जना पक्राउ परेका छन् ।
काठमाडौंस्थित ठूलोबुबाको घरमा बसेर साइपाल कलेजमा कक्षा ११ अध्ययनरत लजिन केही दिनअघि मात्र नागरिकता बनाउन घर आएका थिए । उनको साथमा ठूलोबुबाले किनिदिएको आइफोन थियो । उक्त आइफोनमा साथीहरुले पटकपटक फोटो खिच्न खोज्ने गरेका थिए । पक्राउ परेका ददी परियारले आफ्नो फोन नराम्रो भएकोले राम्रो फोटो खिच्नका लागि माग्ने गरेको पनि खुलेको छ । फोनमा साथीहरुको फोटोसमेत भेटिएको प्रसाईंले बताउनुभयो ।



शव भेटिनुअघि साउन ७ गते नै घटनामा संलग्नको आधारमा २० वर्षीय रेमबहादुर बिक, १९ का सुदीप बिक, १६ का असिम वन र १७ का ददी परियारलाई नियन्त्रणमा लिएर व्यक्ति बेपत्ता पार्ने कसुरमा मुद्दा दर्ता गरी ५ दिनको म्यादसमेत थप भएको थियो । शव फेला परेपछि उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ताको तयारी गरेको छ । ९ दिनसम्ममा मृतकको शव गलिसकेको अवस्थामा भेटिएको थियो । पोस्टमार्टमका लागि शव धौलागिरि अस्पताल ल्याइएको छ । चोटका प्रकृति र अन्य विवरण पोस्टमार्टमपछि खुल्ने जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताउनुभयो ।
साउन २ गते बिहानदेखि नै थापा बेपत्ता भएको उजुरीपछि इलाका प्रहरी कार्यालय गलकोट, प्रहरी चौकी खरबाङ र जिल्ला प्रहरी प्रमुख प्रसाईंसहितको टोलीले गाउँमा खोजी गरेको थियो । अनुसन्धान कठिन भएपछि प्रदेश प्रहरी कार्यालय पोखराबाट पोलिग्राफ प्राविधिक र तालिमप्राप्त कुकुरसमेत ल्याउनु परेको थियो । घटनापछि गाउँ शोकमग्न भएको छ । पक्राउ परेकाहरु समेत सानो उमेरका भएकोले अनुसन्धान कठिन भएको उनले बताउनुभयो ।



