काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा भइरहेको त्रिकोणात्मक श्रृखंलामा नेपालले आज नामिबियाविरुद्ध आफ्नो महत्वपूर्ण खेल खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
नेदरल्याण्ड्समा रहेको नेपाली टोलीले श्रृखंलाका पहिलो दुई खेलमा पराजय व्यहोरि सकेको छ । पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा घरेलु टोली नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित हुन पुग्यो । लगातार दुई खेल हारेको नेपाली टोलीलाई विश्वकप ग्लोबल छनोटको दौडमा रहिरहन अबका खेलहरू अत्यन्त महत्वपूर्ण हुनेछ । लिग–२ मा सहभागी आठ टोलीमध्ये शीर्ष चार टोलीले सिधै ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने व्यवस्था छ ।



नेपालले हालसम्म ३० खेल खेल्दै २४ अंक जोडेको छ र अंक तालिकाको पाँचौँ स्थानमा छ । नेपाली टोलीले जारी श्रृङ्खलामा अझै दुई खेल खेल्न बाँकी छ भने त्यसपछि ओमानमा हुने अन्तिम चरणमा चार खेल खेल्नेछ । यसरी नेपालका लागि कुल ६ खेल बाँकी रहेका छन् ।
शीर्ष चारमा पुग्ने सम्भावना बलियो बनाउन नेपालले बाँकी सबै ६ खेल जित्नुपर्ने अवस्था छ । सबै खेल जितेमा नेपालको कुल अंक ३६ पुग्नेछ । यदि नेपालले पाँच खेल मात्र जित्यो भने ३४ अंकमा सीमित हुनेछ र त्यस अवस्थामा शीर्ष चारको सम्भावना अन्य टोलीहरूको नतिजा तथा नेट रनरेटमा निर्भर रहनेछ । पाँचभन्दा कम जितले भने ग्लोबल छनोटमा प्रत्यक्ष स्थान बनाउने बाटो लगभग बन्द हुन सक्छ ।
नेपालका लागि अर्को ठूलो चुनौती एकदिवसीय (ओडीआई) मान्यता जोगाउनु पनि हो । लिग–२ को शीर्ष ६ भित्र रहन सके मात्र ओडीआई मान्यता सुरक्षित रहने भएकाले बाँकी ६ खेलमध्ये कम्तीमा चार खेल जित्नु नेपालका लागि आवश्यक देखिन्छ । चार खेल जितेमा नेपाल ३२ अंकमा पुग्नेछ, जसले ओडीआई मान्यता जोगाउने सम्भावना बलियो बनाउँछ । तर तीन वा सोभन्दा कम खेल जितेमा नामिबिया, क्यानडा र यूएईसँगको प्रतिस्पर्धामा नेपाल पछि पर्ने र ओडीआई मान्यता गुम्ने जोखिम बढ्नेछ ।



