काठमाडौं — नेपालको मुस्ताङस्थित शिन्तामणि मुस्ताङ विश्वका उत्कृष्ट लक्जरी होटलहरूको सूचीमा शीर्ष स्थानमा परेको छ। अन्तर्राष्ट्रिय प्रसिद्ध लक्जरी लाइफस्टाइल म्यागेजिन रोब रिपोर्ट ले सन् २०२६ का लागि सार्वजनिक गरेको विश्वका ५० उत्कृष्ट लक्जरी होटलको सूचीमा शिन्तामणि मुस्ताङलाई पहिलो स्थानमा राखेको हो।
रोब रिपोर्टले यस रिसोर्टलाई विश्वकै अद्वितीय विलासी गन्तव्य ‘रैरेफाइड प्यान्थियन’ सूचीमा समावेश गर्दै उत्कृष्ट आतिथ्य सेवाका आधारमा शीर्ष स्थान दिएको जनाएको छ। कालीगण्डकी नदी नजिकै रहेको यो रिसोर्ट प्रख्यात डिजाइनर बिल बेन्स्लीको परिकल्पनामा निर्माण गरिएको हो। परम्परागत बाग्लुङ ढुङ्गा प्रयोग गरी बनाइएको रिसोर्टमा २९ वटा कोठा रहेका छन्, जहाँबाट हिमालको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ।



यात्रा विशेषज्ञ क्रिस्टोफर विल्मोट–सिटवेलले शिन्तामणि मुस्ताङलाई शरीर, मन र आत्माको शान्तिका लागि उत्कृष्ट विश्रामस्थलका रूपमा वर्णन गरेका छन्। रिसोर्टमा आउने पाहुनाका लागि कम्तीमा पाँच रातको बसाइ प्याकेज तयार गरिएको छ। मुस्ताङको शान्त वातावरण, हिमाली दृश्य, घोडचढी, धनुषबाण, पदयात्रा, ८ सय वर्ष पुरानो लुब्रा गाउँको भ्रमण, बोन बौद्ध संस्कृति र परम्परागत तिब्बती चिकित्साको अनुभव यहाँका प्रमुख आकर्षण हुन्।
रोब रिपोर्टले २४ जना ट्राभल विशेषज्ञको सिफारिस, स्थलगत अनुभव, सेवाको गुणस्तर, स्थान, व्यवस्थापन र मौलिकताका आधारमा मूल्यांकन गरेको जनाएको छ। शिन्तामणि मुस्ताङले सबैभन्दा धेरै अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। यो अन्तर्राष्ट्रिय सम्मानले नेपालको पर्यटन क्षेत्रलाई थप विश्वव्यापी पहिचान दिलाउनुका साथै नेपाललाई उच्चस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



