कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्टान र माटोसहितको पहिरो खसेपछि मुगु, जुम्ला, कालीकोट र सुर्खेत आवतजावत गर्ने यातायात सेवा ठप्प भएको हो।
सडक बन्द भएपछि यात्रुवाहक तथा मालवाहक गरी दर्जनौँ सवारी साधन बाटोमै रोकिएका छन् भने सयौँ यात्रु अलपत्र परेका छन्। खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधन पनि गन्तव्यमा पुग्न सकेका छैनन्।



जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी पहिरो हटाउन उपकरणसहितको टोली परिचालन गरिएको छ। यद्यपि पहिरो पन्छाउने उपकरण घटनास्थलमा पुग्न ढिलाइ भएकाले सडक खुलाउन केही समय लाग्ने प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिएका छन्।



