आजभन्दा ठीक एक वर्षअघि, अर्थात् २०८२ भदौ २३ गते। सडकमा ओर्लिएको नवयुवा पुस्ताको अभूतपूर्व विद्रोहले तीन दशकदेखि आलोपालो सत्ता चलाइरहेका पुराना दलहरूलाई घुँडा टेकाउन बाध्य पार्यो । तत्कालीन सरकार ढल्यो र अन्तरिम सरकार बन्यो। तर, त्यो विशाल आन्दोलनको मुख्य म्यान्डेट के थियो ? त्यो थियो – झन्डै साढे तीन दशकदेखि सत्ता कब्जा गरेर बसेका पुराना दलहरू सुध्रिऊन्, युवा नेताहरूको नेतृत्वमा पुनर्गठित होऊन् र देशमा सुशासन कायम होस्। आज आन्दोलनको एक वर्ष पुग्दै गर्दा पुनः प्रश्न खडा भएको छ- के दलहरू सुध्रिए त ? वा उनीहरूले जेनजीको म्यान्डेटलाई उल्टै छलछाम गरे ?

आन्दोलनका बेला सत्तासाझेदार रहेको कांग्रेसले जेनजीको मर्मअनुरूप भन्दै २०८३ पुस अन्तिम साता विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापति त बनायो, तर युवा नेतृत्व आए पनि पार्टी एकताबद्ध हुन सकेन। तत्कालीन सभापति शेरबहादुर देउवा पाका नेताहरूलाई समेटेर सानेपा छाडी चुनदेवी सर्नुभयो। यता गगन थापा स्वयम्‌माथि पनि भ्रष्टाचार निर्मूलन र सुशासनको कार्यसूचीमा प्रभावकारी काम गर्न नसकेको आरोप लागिरहेको छ। नतिजास कांग्रेस सुध्रिनुको सट्टा झन् कमजोर र विभाजित बनेको छ। फेरि देउवालई फर्काउने चलखेल जारी छ । सभापति गगन थापामाथि युवा भएकैले कांग्रेसकै पुराना नेताहरू भाइ भन्दै अपमान गरिरहेका छन् अनि गगनलाई सभापतिबाट हटाएर देउवा ल्याउन बुढा नेताहरूको बेत्तोडको दौड जारी नै छ ।

भदौ २३ को आन्दोलनका बेला प्रधानमन्त्री रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ गते मात्र राजीनामा दिँदा ठूलो धनजनको क्षति हुन पुग्यो। युवा नेतृत्वमा पुनर्गठित हुनुपर्ने आन्तरिक तथा बाह्य दबाब छल्न ओलीले एक वर्षअगावै ११औँ महाधिवेशन त गर्नुभयो, तर पुनः आफैँ अध्यक्ष बन्नुभयो। दुई कार्यकालको वैधानिक सीमा नाघेर तेस्रोपटक पार्टीसत्ता कब्जा गरेपछि एमालेभित्रै असन्तोषको ज्वालामुखी विस्फोट भइरहेको छ। जेनजीको मागलाई एमालेका शीर्ष नेताहरूले अझै पनि गम्भीरतापूर्वक लिएकै छैनन्। जेनजी विद्रोहदेखि चुनावी पराजयसम्मको विषयलाई समेटेर तयार पारिएको पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनले पनि ओलीबाट अब एमाले गतिशील हुन नसक्ने निश्कर्ष निकालिसकेको छ ।

आन्दोलनको दबाब छल्न तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य २५ वटा साना दल तथा समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाए। तर, यो वास्तविक रूपान्तरण थिएनस केवल जेनजीले भनेझैं युवा नेतृत्वको मागलाई भुलाइदिने र आफ्नो राजनीतिक अस्तित्व जोगाउने एउटा स्टन्ट मात्रै थियो। अनुहार उही, सोच उही, केवल पार्टीको बोर्ड मात्र फेरियो। अनि फेरि पनि प्रचण्ड(माधव नेपालहरू नै पार्टीसत्ता कब्जा गरेर बसिरहनुभएकै छ ।

अब कुरा गरौँ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को। जेनजी आन्दोलनपछि तत्कालीन काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह जोडिएपछि २१ सिटमा सीमित रास्वपा १८४ सिटको महाशक्ति बन्यो। शाह प्रधानमन्त्री र आन्दोलनबाटै स्थापित सुधन गुरुङ गृहमन्त्री बन्नुभयो। तर, सुशासन र भ्रष्टाचार निर्मूलनको मुख्य भारी बोकेको यो सरकारको कार्यशैलीबाट आज जेनजीका अगुवा, शहीद परिवार र सर्वसाधारण कोही पनि सन्तुष्ट छैनन्। सरकारको कार्यसम्पादनमाथि निरन्तर गम्भीर प्रश्नहरू उठिरहेका छन्। सरकारले सुशासन कायम गर्ने सवालमा आवश्यक नीतिगत निर्णय लिन नसकेको र विषय बाहिर बरालिएको जेनजी अगुवाहरुकै आरोपको सरकारले कामबाट जवाफ दिन सकिरहेको छैन ।

पछिल्लो निर्वाचनमा ५ सिटमा खुम्चिएको राप्रपा र शून्यमा झरेका मधेसवादी दलहरूले त सुध्रिने न्यूनतम प्रयत्नसम्म गरेनन्। कहिले मोर्चा त कहिले पुनर्गठनका नाममा उनीहरू राजनीतिक नाटक मञ्चन गरिरहेका छन्, तर युवालाई नेतृत्व सुम्पिने छाँटकाँट कतै देखिँदैन। बरु उत्तरार्द्धको राजनीति गरिरहेका नेताहरू नै फेरि जुरमुराउने सुरसारमा छन् ।

भदौ २३ को आन्दोलनले मागेको युवा नेतृत्व र दलीय पुनर्गठनको म्यान्डेटलाई पुराना र स्थापित दलहरूले जालसाजी गर्दै पन्छाएका छन्। उता, सुशासनको आशा जगाएको नयाँ सत्तारूढ दल रास्वपा पनि आफ्नै जिम्मेवारीबाट चुकेको छ। एक वर्षअघि सडकबाट जागेको आशा आज पुनः गहिरो निराशामा परिणत हुने जोखिम बढेको छ । तर दलहरूले बिर्सनु हुँदैन( कि जनताको म्यान्डेटलाई केही समय छल्न सकिएला, तर युवा आक्रोशलाई धेरै दिन दबाएर राख्न सकिँदैन। सबैले समयमै सोच्नु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय