पश्चिम नवलपरासी- मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना अन्तर्गत सिमापार जोड्ने प्रसारण लाइन निर्माणको काम समयमै सम्पन्न भएको छ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको निर्माण कार्य शिलान्यासको ९ महिनामै सम्पन्न गरेको हो।
पश्चिम नवलपरासीको सुनवल-१३ सुर्यवस्तीमा निर्माणाधीन सबस्टेशनदेखि भारतको सिमासम्म १८ किलोमिटर खण्डमा ५३ वटा टावरको निर्माण सम्पन्न भएको एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टले जानकारी दिनुभयो। प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा आईतबार सुनवल सुर्यबस्तीमा आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव तथा एमसिए-नेपालको सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीले उर्जा क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको बताउनुभयो ।
एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले नेपालको उर्जा व्यापारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै साझा लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्दा कस्तो परिणाम हासिल गर्न सकिने बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत् सम्पर्क विस्तार गर्न गरेको प्रयास समयमै प्रसारण लाइन निर्माण सम्पन्न हुनुले पुष्टि गरेको बताउनुभयो ।



नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रसारण लाइन मार्फत नेपाल र भारतबीचको सुदृढ विद्युत् सञ्जालबाट प्राप्त हुने बृहत् लाभ हासिल गर्न नेपाल थप सक्षम बन्दै गएको बताउनुभयो । नेपालतर्फको १८ किमि प्रसारण लाइन खण्ड पूरा भएबाट सीमापार प्रसारण लाइन अन्तर्गत एमसिए–नेपालबाट हुनुपर्ने निर्माण कार्य सम्पन्न भएको छ । अब यो प्रसारण लाइनमा विद्युत् प्रवाह गरी यसलाई सञ्चालनमा ल्याउनुपूर्व नेपाल–भारत सीमापार विद्युत् प्रवाह गर्न आवश्यक कार्य एवं स्वीकृति प्राप्ति लगायतका बाँकी कामलाई अगाडि बढाइनेछ ।
गत वर्षको मङ्सिरमा तत्कालिन अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागी अमेरिकि राजदूत डिन आर थम्प्सनले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । उक्त प्रसारण लाइन निर्माणका लागी हाल सम्म झन्डै एक अर्ब २४ करोड बराबरको मुआब्जा वितरण गरिएको छ । अझै केहि जग्गाको मुआब्जा वितरण प्रक्रियामा रहेको एमसिए नेपालले जनाएको छ । एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन् । अहिले पहिलो खण्डको रुपमा अन्तरदेश जोड्ने प्रसारण लाइन निर्माण भएको हो ।



