सिरहा – ‘आँगनमै चापाकल, पानी छैन स् २०० परिवार एउटै सबमर्सिबल पम्पको भरमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना–हरिपुरको खानेपानी समस्याप्रति खानेपानी मन्त्रालयको ध्यानाकर्षण भएको छ। खानेपानी समस्याबारे समाचार प्रकाशित भएपछि मन्त्रालयका महानिर्देशकको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामको टोली सोमबार बेतौना–हरिपुर पुगेको हो। कार्यालयका प्राविधिकसहितको टोलीले गोलबजार नगरपालिकाका कर्मचारी तथा स्थानीयको उपस्थितिमा खानेपानी समस्या रहेको क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।

हरिपुरका करिब २०० परिवार लामो समयदेखि एउटै सबमर्सिबल पम्पको भरमा खानेपानीको जोहो गर्दै आएका छन्। घरघरको आँगनमा चापाकल भए पनि भूमिगत पानीको सतह घट्दै गएपछि चापाकलबाट पानी आउन छाडेको स्थानीयको गुनासो छ। खानेपानीको नियमित स्रोत नहुँदा स्थानीयलाई एउटै सबमर्सिबल पम्पबाट पानी भर्नुपर्ने बाध्यता रहेको छ। लामो समयदेखि समस्या भोग्दै आएका स्थानीयले खानेपानीको स्थायी व्यवस्था गर्न पटक–पटक आग्रह गर्दै आएका थिए।

बोरिङ र ओभरहेड ट्यांकी बनाउने तयारी
स्थलगत निरीक्षणपछि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामले बेतौना–हरिपुरमा खानेपानीको तत्कालीन समस्या समाधानका लागि नयाँ संरचना निर्माण गर्ने तयारी थालेको छ। कार्यालयका प्रमुख मिहिरचन्द्र आचार्यका अनुसार त्यहाँ चार इन्चको करिब १२० मिटर गहिरो बोरिङ गर्ने र त्यससँगै ओभरहेड ट्यांकी निर्माण गर्ने तयारी गरिएको छ। ‘हामी दिउँसो करिब १२ बजे समस्या रहेको स्थलमा पुग्यौँ। त्यहाँ खानेपानीको समस्या रहेछ। हामीले स्थलगत निरीक्षण पनि गर्‍यौँ,’ प्रमुख आचार्यले भने। उनका अनुसार स्थानीयलाई सहज रूपमा खानेपानी उपलब्ध गराउन बोरिङ र ट्यांकीसँगै करिब ५ देखि १० वटा सार्वजनिक धारा निर्माण गर्ने योजना पनि छ। ‘आवश्यकता हेरेर दोस्रो वा तेस्रो बोरिङसमेत गर्न सकिन्छ,’ आचार्यले भने।

जग्गा उपलब्ध भएपछि काम सुरु हुने
बोरिङ जडानका लागि आवश्यक जग्गा उपलब्ध हुनासाथ निर्माणको काम सुरु गर्ने कार्यालयले जनाएको छ। बोरिङ तथा खानेपानी संरचना निर्माणका लागि जग्गाको व्यवस्थापन स्थानीय तहबाट हुनुपर्ने भएकाले त्यसका लागि वडा कार्यालयसँग समन्वय भइरहेको कार्यालय प्रमुख आचार्यले बताए। उनका अनुसार वडा कार्यालयले मंगलबार बिहान स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालासहित बैठक राख्ने तयारी गरेको छ। ‘वडा कार्यालयले बोरिङ जडानका लागि जग्गा उपलब्ध गराउनेबित्तिकै मन्त्रालयको निर्देशनअनुसार काम सुरु गर्छौँ,’ आचार्यले बताए।

समाचारपछि स्थानीयमा आशा
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयले आफ्नो समस्या सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि सरकारी निकायको ध्यानाकर्षण भएको भन्दै अब समाधान हुने आशा व्यक्त गरेका छन्। स्थानीयका अनुसार घरघरमा चापाकल भए पनि भूमिगत पानीको सतह घटेपछि ती चापाकल प्रयोगविहीन बनेका छन्। दैनिक आवश्यकताका लागि एउटै सबमर्सिबल पम्पमा निर्भर हुनुपर्दा २०० परिवारलाई पानीको जोहो गर्न कठिन हुँदै आएको थियो।

अब बोरिङ, ओभरहेड ट्यांकी र सार्वजनिक धाराको व्यवस्था भएपछि वर्षौंदेखिको समस्या समाधान हुने स्थानीयको अपेक्षा छ। खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले पनि स्थानीय तहबाट आवश्यक जग्गा उपलब्ध भएलगत्तै मन्त्रालयको निर्देशनअनुसार काम अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय