नुवाकोट — भोटेकोशी बाढीबाट प्रभावित स्थानीय समुदायको अवस्था बुझ्न नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत ड्यानियल म्युवलीले विदुर नगरपालिकाको भ्रमण गरेकी छन्।भ्रमणका क्रममा राजदूत म्युवलीले स्थानीय जनप्रतिनिधि तथा अधिकारीहरूसँग भेट गरी बाढीपछि उत्पन्न अवस्था, स्थानीय समुदायले भोगिरहेका समस्या र प्रभावित परिवारको पुनःस्थापनाका लागि भइरहेका प्रयासबारे जानकारी लिइन्।
स्थानीय तहका पदाधिकारीसँगको छलफलमा बाढीबाट परेको प्रभाव, विपद्का कारण उत्पन्न चुनौती तथा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा जानकारी आदानप्रदान भएको जनाइएको छ। स्थानीय सरकारका प्रतिनिधिहरूले विपद्पछिको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा पुनःस्थापना र पुनर्निर्माणका प्राथमिकताबारे राजदूत म्युवलीलाई जानकारी गराएका थिए।



भोटेकोशीमा आएको बाढीले विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनाउनुका साथै स्थानीय पूर्वाधार र सार्वजनिक सेवामा समेत असर पारेको छ। विपद्पछि प्रभावित समुदायलाई राहत उपलब्ध गराउनेसँगै स्थानीय तहबाट सार्वजनिक सेवा नियमित बनाउन प्रयास भइरहेको छ।यसैबीच, स्विट्जरल्यान्डले नेपालमा गर्दै आएको मानवीय सहयोगलाई निरन्तरता दिँदै रसुवाका उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकालाई सूचना प्रविधिसम्बन्धी उपकरण उपलब्ध गराएको छ। बाढी तथा विपद्का कारण प्रभावित सार्वजनिक सेवा पुनः सञ्चालन गर्न स्थानीय सरकारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उपकरण उपलब्ध गराइएको हो।
उपकरणको सहयोगबाट स्थानीय तहका कार्यालयमा अत्यावश्यक सेवा प्रवाह तथा प्रशासनिक कामलाई नियमित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विपद्का समयमा स्थानीय सरकारको सेवा प्रवाह प्रभावित हुँदा नागरिकले प्रत्यक्ष समस्या भोग्नुपर्ने भएकाले सूचना प्रविधिको पूर्वाधारलाई पनि पुनःस्थापनाको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ। स्विट्जरल्यान्डले नेपालका विपद् प्रभावित समुदाय र स्थानीय सरकारलाई विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग गर्दै आएको जनाएको छ। स्थानीय तहसँगको सहकार्यमा प्रभावित समुदायको आवश्यकता पहिचान गरी सहयोगलाई प्रभावकारी बनाउनेतर्फ स्विट्जरल्यान्डले जोड दिएको छ।
राजदूत म्युवलीको विदुर भ्रमणलाई पनि बाढी प्रभावित समुदायको अवस्था प्रत्यक्ष रूपमा बुझ्ने तथा स्थानीय सरकारका प्राथमिकता र आवश्यकताबारे जानकारी लिने प्रयासका रूपमा हेरिएको छ।स्थानीय सरकारसँग प्रत्यक्ष संवादमार्फत विपद्पछिको पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग र समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्य रहेको स्विट्जरल्यान्डले जनाएको छ। स्विट्जरल्यान्डले नेपालका स्थानीय समुदाय र सरकारलाई विपद्पछिको अवस्थामा मात्र नभई दीर्घकालीन रूपमा पुनःस्थापना र पुनर्निर्माणका लागि समेत सहयोग जारी राख्ने जनाएको छ।



