पर्वत — कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण बस्तीका करिब ८० घर बगाएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार शनिबार रातिदेखि नै कालीगण्डकी नदीको बाढी बस्तीमा पस्न थालेको थियो। बाढीको जोखिम बढ्दै गएपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका थिए।
बाढीले ठूलो संख्यामा घर बगाएपछि बस्तीका अन्य घरसमेत उच्च जोखिममा परेका छन्। जोखिमको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वत र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालन भएको थियो। सुरक्षाकर्मीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै घरभित्र रहेका जिन्सी तथा अन्य सामानसमेत सुरक्षित स्थानमा सार्न सहयोग गरेका छन्। बाढीबाट थप क्षति हुन नदिन सुरक्षाकर्मी तथा स्थानीय स्तरबाट उद्धार र स्थानान्तरणको काम भइरहेको छ।



हालसम्म घटनामा मानवीय क्षति भए–नभएकोबारे यकिन विवरण प्राप्त नभएको सशस्त्र प्रहरीले जनाएको छ। बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ भने फोन सम्पर्कमा समेत समस्या देखिएको छ। यसले घटनास्थलको थप विवरण संकलन तथा प्रभावितसँग सम्पर्क गर्न कठिनाइ भएको बताइएको छ। बाढीले ठूलो भौतिक क्षति पुर्याए पनि स्थानीयहरूलाई समयमै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुनबाट जोगिएको हुनसक्ने प्रारम्भिक अवस्था देखिएको छ। यद्यपि, घटनाको पूर्ण विवरण र क्षतिको यकिन मूल्यांकन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
कालीगण्डकी नदीको बहाव र बाढीको अवस्था अझै जोखिमपूर्ण रहेकाले नदी आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। घटनाको विस्तृत विवरण, क्षतिको यकिन अवस्था र सम्भावित मानवीय क्षतिबारे थप विवरण आउन बाँकी छ।



