काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगातलस्थित चिसापानी धाराबाट चण्डी भैरव विद्यालयतर्फ जाने सडक लामो समयदेखि निर्माण तथा मर्मत नहुँदा स्थानीयवासी तथा यात्रुले सास्ती खेप्दै आएका छन्। सडकमा ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् भने कतिपय स्थानमा बाटो साँघुरो र जीर्ण बनेको छ। वर्षाको समयमा सडकमा हिलो तथा पानी जम्दा आवतजावत थप कठिन हुने गरेको स्थानीयको भनाइ छ।
स्थानीयका अनुसार चन्द्रागिरि नगरपालिका तथा सम्बन्धित निकायमा सडक निर्माण र मर्मतका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन। सडकको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएपछि स्थानीय आक्रोशितसमेत बनेका छन्। विशेषगरी रातको समयमा यात्रा गर्दा सडकको दुरवस्थाका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको स्थानीय बताउँछन्। रातविरात आवतजावत गर्नुपर्ने अवस्थामा खाल्डाखुल्डी तथा साँघुरो सडकका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरूले ournewscrew.com सँग गुनासो गरेका छन्।



यो सडक चण्डी भैरव विद्यालयतर्फ जाने विद्यार्थी, अभिभावक तथा स्थानीयको दैनिक आवतजावतको महत्वपूर्ण मार्गसमेत हो। सडक व्यवस्थित नहुँदा विद्यालय जाने विद्यार्थीलाई समेत समस्या हुने गरेको स्थानीयको भनाइ छ। स्थानीयले सडकको तत्काल स्थलगत अनुगमन गरी आवश्यक बजेट व्यवस्थापन गरेर निर्माण तथा मर्मतको काम अघि बढाउन चन्द्रागिरि नगरपालिका र सम्बन्धित निकायसँग माग गरेका छन्। साथै रातको समयमा सुरक्षित आवतजावतका लागि सडक बत्ती तथा आवश्यक पूर्वाधारको व्यवस्था गर्नसमेत उनीहरूको माग छ।



