नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन्। स्वीकृत परियोजनाले कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण, हिन्दुकुश हिमालय क्षेत्रमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र लुम्बिनी प्रदेशका स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने लक्ष्य राखेका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रिन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत भएको छ। यसले प्रकृतिमा आधारित समाधानमार्फत कोशी क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण र जलवायु उत्थानशीलता अभिवृद्धिमा जोड दिनेछ।

त्यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कार्यान्वयन गर्ने ‘सेफ निब’ परियोजनाको पूर्व–अवधारणापत्र पनि स्वीकृत भएको छ। प्रस्तावित ३० करोड अमेरिकी डलर बजेट रहेको यस परियोजनाले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु अनुकूलन क्षमता बढाउनुका साथै बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने लक्ष्य राखेको छ।

संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिटाट) ले कार्यान्वयन गर्ने तेस्रो परियोजनाका लागि ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलरको अवधारणापत्र स्वीकृत भएको छ। यस परियोजनाले लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्य सञ्चालन गरी समुदायको उत्थानशीलता बढाउनेछ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेका बेला नेपालका तीनवटै परियोजनाका प्रस्ताव स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन्। उनका अनुसार यी परियोजनाले जलवायु परिवर्तनका असर व्यवस्थापन, प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा वातावरणीय क्षेत्रमा परेको आर्थिक भार कम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

जलवायु परिवर्तन र प्राकृतिक विपद्का जोखिम बढिरहेका बेला परियोजनाले पारिस्थितिक प्रणाली संरक्षण, विपद्को पूर्वतयारी र स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय