काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। दुई पटक फाइनल पुगिसकेको सुदूरपश्चिम यसपटक भने अपेक्षाअनुसार प्रदर्शन गर्न संघर्षरत छ। अर्कोतर्फ, चितवन सुरुवाती खेलमा देखाएको लयलाई निरन्तरता दिने लक्ष्यमा छ। प्रतियोगितामा हारबाट सुरुवात गरेको सुदूरपश्चिमले दोस्रो खेलमा पुनरागमन गर्दै पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको थियो। तर, शनिबार राति विराटनगर किङ्ससँग भएको खेलमा ३५ रनले पराजित भएपछि टोली फेरि दबाबमा परेको छ।
लिग चरणका अघिल्ला दुई संस्करणमा एक–एक खेलमात्र गुमाउँदै प्लेअफ पुगेको सुदूरपश्चिमले यसपटक भने समर्थकको अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन। उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग ८७ रनमै अलआउट हुँदै ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा जित निकाल्दै लय समात्ने संकेत गरेको थियो।तर, शनिबार वर्षाका कारण ढिलो सुरु भएको खेलमा विराटनगरसँग पराजित भएपछि टोलीको चुनौती थपिएको छ। पाँच ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेन। अब प्लेअफको यात्रा सहज बनाउन उसलाई जितको आवश्यकता छ।



यता, चितवन राइनोजले प्रतियोगितामा सकारात्मक सुरुवात गरेको छ। पहिलो खेलमा बलियो टोली विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको चितवनले दोस्रो खेलमा भने वर्षाका कारण लुम्बिनी लायन्ससँग अंक बाँड्नुपरेको थियो। शनिबार मैदानको खराब अवस्थाका कारण खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक पाए। यसले दुवै टोलीलाई केही राहत दिए पनि अंकतालिकामा स्पष्ट अग्रता बनाउने अवसर गुम्यो। अब सुदूरपश्चिमलाई हराउँदै चितवन प्लेअफको दाबेदारी थप बलियो बनाउने योजनामा छ।
हेड टु हेड : दुवै टोलीको बराबरी हैसियत
एनपीएलमा सुदूरपश्चिम र चितवनबीच अहिलेसम्म दुई खेल भएका छन्। पहिलो संस्करणमा सुदूरपश्चिमले लिग चरणमा बेहोरेको एकमात्र हार चितवनविरुद्ध नै थियो। उक्त खेलमा चितवनले ३३ रनको जित निकालेको थियो। तर, गत संस्करणमा सुदूरपश्चिमले त्यसको बदला लिँदै चितवनलाई ४९ रनले पराजित गरेको थियो। यसरी आमनेसामनेका दुई खेलमा दुवै टोलीले एक–एक जित निकालेका छन्। त्यसैले यसपटकको भिडन्तमा दुवै टोली मनोवैज्ञानिक अग्रता हासिल गर्ने लक्ष्यमा हुनेछन्।
दीपेन्द्रसिंह ऐरी : सुदूरपश्चिमका मुख्य भरोसा
सुदूरपश्चिमको प्रदर्शनमा उतारचढाव देखिए पनि कप्तान दीपेन्द्रसिंह ऐरी भने लयमा छन्। पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक बनाएका उनले प्रतियोगितामा अहिलेसम्म ७९ रन जोडिसकेका छन्।ब्याटिङसँगै बलिङ र फिल्डिङमा समेत प्रभाव पार्न सक्ने दीपेन्द्र सुदूरपश्चिमका मुख्य हतियार हुन्। दबाबपूर्ण अवस्थामा टोलीलाई सम्हाल्न सक्ने उनको क्षमताले आजको खेलमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ।
अनिल खरेल : बलिङमा सुदूरपश्चिमको आशा
सुदूरपश्चिमका स्पिनर अनिल खरेल पनि टोलीका महत्वपूर्ण खेलाडी हुन्। किफायती बलिङसँगै नियमित विकेट लिन सफल उनले लुम्बिनीविरुद्धको पहिलो खेलमा बलियो ओपनिङ साझेदारी तोडेका थिए। दोस्रो खेलमा पोखराका साबिक अल हसन, मेहदी हसन र सदीरा समराविक्रमालाई आउट गर्दै उनले आफ्नो प्रभाव देखाएका थिए। चितवनका ब्याटरलाई दबाबमा राख्न अनिलको बलिङ महत्वपूर्ण हुन सक्छ।
डाविड मलान: चितवनको ब्याटिङको आधार
विश्वविख्यात इंग्लिस ब्याटर डाविड मलान चितवनका प्रमुख ब्याटिङ हतियार हुन्। क्रिजमा टिकेर ठूलो इनिङ्स खेल्न सक्ने क्षमता भएका मलानको प्रदर्शनले खेलको दिशा निर्धारण गर्न सक्छ।विराटनगरविरुद्धको पहिलो खेलमा ७० रनको उत्कृष्ट इनिङ्स खेलेका मलान आज पनि त्यही लय दोहोर्याउने लक्ष्यमा हुनेछन्। उनी चलेमा चितवनले ठूलो स्कोर खडा गर्ने सम्भावना बलियो हुनेछ।
कमल सिंह ऐरी : डेथ ओभरमा चितवनको भरोसा
चितवनका तीव्र गतिका बलर कमल सिंह ऐरी पनि आजको खेलमा महत्वपूर्ण खेलाडीका रूपमा रहनेछन्। विराटनगरविरुद्धको पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै २६ रन खर्चिएर चार विकेट लिएका उनी उक्त खेलका प्लेयर अफ द म्याचसमेत बनेका थिए।विशेषगरी डेथ ओभरमा प्रभावकारी बलिङ गर्न सक्ने कमलबाट चितवनले आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरेको छ।समग्रमा, सुदूरपश्चिमका लागि यो खेल जितको लय फर्काउने अवसर हो भने चितवनका लागि प्लेअफ यात्रालाई थप मजबुत बनाउने मौका। दुवै टोलीको विगतको प्रदर्शन र वर्तमान अवस्थालाई हेर्दा आजको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ।



